भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा, नवलपरासी क्षेत्रमा अब नियमित बिजुली प्रवाह हुने

-



     सफल आवाज    
     असार १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असार । एक पछि अर्को रुग्ण आयोजना सम्पन्न गर्दै गएको नेपाल विद्युत् प्राधिकरणले भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको प्रसारण लाइन सञ्चालनमा आएपछि नवलपरासी क्षेत्रमा थप गुणस्तरीय बिजुली समेत प्रवाह हुनेछ ।

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारी स्थिति सवस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह (चार्ज) गरी परीक्षण सञ्चालन गरिएकामा आजदेखि पूर्ण रुपमा सञ्चालन गरिएको छ । नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो ।

कूल ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो ।

भरतपुर सवस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सवस्टेसनसम्म विद्युत प्रवाह हुने छ । अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सवस्टेसनमार्फत विद्युत् आपूर्ति हुने छ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत् खपत हुने गरेको छ । पुरानो १३२ केभी लाइनबाट कावासोतीलगायतका क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत सिधैँ पठाउन सकिने छ ।

अहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो । अहिले चालु रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने बाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोती लगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकाले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिने भएको छ ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ मेगावाट विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।