बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो : किसान

-



     सफल आवाज    
     असार १५ गते २०७९ मा प्रकाशित



महोत्तरी, १५ असार । पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु रोपाइँ गर्न लागेका हुन् । एक सातायता दिनहुँजसो पानी परिरहेको छ । दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न किसानलाई छ ।

“बजारमा मल पाइएन, पानी परेकाले बीउ रोप्न थालियो”, भङ्गाहा नगरपालिका–४ रामनगरका इद्रिस राइनले भने । जिल्लाका सबै भेगमा पानी परेपछि किसान सक्रिय बनेका छन् । असार मसान्तमै धानको शाहीरोप (पहिलो बीउरोप) सकिने बलवा नगरपालिकाका मन्सुल राइन बताउछन्। “मौसमले साथ दिए समयमै धान रोपाइँ सकिन्छ”, उनले भने । मल नपाएकामा भने उनको दुःखेसो छ ।

महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत जेठ २२ गतेसम्म हिउँदे धानको बीउ राख्ने, असार तेस्रो साताभित्रै बीउरोप सक्ने र साउन तेस्रो साताभित्र खरुवन (पहिले रोपिएको बीउको रोपो गाँजिएपछि उखेलेर रोप्ने) रोपाइँ सक्ने उपयुक्त समय हो । यसपालि बीउ धानको अभावले समयमै ब्याड राख्न नपाएको किसान बताउँछन् । उनीहरुले सहकारी संस्था र बीउ नपाएपछि घरकै बीउ राखेर ब्याड बनाएका छन् ।

ब्याडको बीउ १५ दिनको भएपछि रोप्न थालिएको हो । लगातार पानी परिरहेकाले खेतका गह्रामा पानी लागेको छ । किसान खेत हिल्याउने, गह्रा सम्याउने, बीउ काढ्ने (बीउ उखेल्ने) र रोप्ने काममा ब्यस्त छन् । जिल्लामा कूल खेतीयोग्य जग्गा ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमा मात्र नहर कुलो लाग्छ ।

यहाँ अधिकांश खेती आकाशे पानीकै भरमा गर्नुपरेको छ । समयमा बीउ, मल र जनशक्ति नपाउँदा गाह्रो भएको बर्दिवास नगरपालिका–१२ बिजलपुराका विश्वनाथ सिंह बताउछन् । कुल खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टर क्षेत्रफल धानखेतीका लागि उपयुक्त मानिन्छ ।