बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न नेपाल एयरलाइन्स सक्रिय : महाप्रबन्धक ज्वारचन

-



     सफल आवाज    
     असार १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले प्रतिस्पर्धी हवाई बजारमा दरिलो उपस्थिति प्रदर्शन गर्न सक्रिय ढङ्गले लागिपरेको जनाएको छ ।

निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गरे। निगम स्थापनाको ६४औँ वार्षिकोत्सवका अवसरमा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले निगमका अगाडि प्रशस्त चुनौती रहे तापनि सामूहिक प्रयासका माध्यमले सफलतातिर लैजान सकिने विश्वास व्यक्त गरे।

“संस्थामा आन्तरिक सुधार गर्दै अन्तर्राष्ट्रिय जगत्मा प्रतिष्ठा बढाउनेतर्फ निगमको प्रयास रहनेछ तर त्यसमा एक्लो व्यक्तिको प्रयासमात्र पर्याप्त नहुने भएकाले निगमका समस्त कर्मचारीको सहयोगको अपेक्षा गरेको छु । निगमको बजार हिस्सा बढाउन प्रयास गरौं”, महाप्रबन्धक ज्वारचनले भने। उनले नयाँ काम थाल्नेतिरभन्दा पहिलो चरणमा पुराना योजना पूरा गर्नेतिर निगमले प्रयास थालेको बताए । भविष्यमा निगमका हितमा हुने कार्यनीति र कार्यक्रम थालिने उनको भनाइ छ ।

महाप्रबन्धक ज्वारचनले निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उल्लेख गरे। कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर कर्पोरेट फुटसल प्रतियोगितामा प्रथम भएका निगमका खेलाडीलाई महाप्रबन्धक ज्वारचनले सम्मानपत्र प्रदान गरे।

निगमको नयाँ वेबसाइट सुरु

वायुसेवा निगमले वार्षिकोत्सवका उपलक्षमा नयाँ वेबसाइट सुरु गरेको छ । सूचना सञ्चार तथा प्रविधिमा संसारले मारेको फड्को मारेको सन्दर्भमा निगमलाई आधुनिक प्रविधियुक्त बनाउन भन्दै निगमले वेबसाइट प्रारम्भ गरेको हो । उक्त वेबसाइटको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शुभारम्भ गरे। बेवसाइटमार्फत निगमको अनलाइन टिकट बुकिङ गर्न सजिलो हुनेछ ।

अनलाइन बुकिङको प्लेटफर्म मैत्री सिष्टमले एक महिनाभित्र नै यात्रुले घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ । निगमको नयाँ वेबसाइटमा च्याटबक्सको पनि सुविधा छ जसले गर्दा यात्रुको आफ्नो जिज्ञासा, गुनासोको पृष्ठपोषण हुनेछ ।

वेबसाइटमा रहेको उडान तालिकाबाट यात्रु तथा सरोकारवालाले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्नेछन् । साथै आगामी दिनमा निगमले अन्तर्राष्ट्रिय उडानको बुकिङसहितको मोबाइल एप लोयल्टी म्यानेजमेन्ट सिस्टमको सुविधा पनि थप गर्ने भएको छ । यो वेबसाइटमार्फत निगमको फेसबुक, ट्वीटर, युटुयुब र इन्स्टाग्राममा जोडिन सक्ने सुविधा रहेको छ ।

वार्षिकोत्सव समारोह समितिका संयोजक एवं वाणिज्य विभागका निर्देशक जनकराज कालाखेतीले संस्था विभिन्न आरोहअवरोह पार गर्दै यो अवस्थामा आइपुगेको छ भन्दै भविष्यका लागि प्रशासनिक सुधार, प्रविधिमैत्री, सेवामा सबलीकरण र विमान थप्ने सोचका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे । उक्त अवसरमा निगमको प्रतीकका रूपमा मानिँदै आएको आकाश भैरवको पूजा पनि गरिएको थियो ।

वार्षिकोत्सवका उपलक्ष्यमा असार १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त अवसरमा १५४ जनाले रक्तदान गरेको निगमले जनाएको छ ।