
काठमाडौं, १९ असार। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनैपनि नीति निर्माणसँगैं कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताएका छन । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री कार्कीले सबैले आचारसंहिता अरूलाई लाग्ने भए पनि आफूलाई लाग्दैन भन्ने सोच्ने गरेको बताए ।
आचारसहिंता अरुलाई लागेजस्तै मलाई पनि लाग्छ भन्ने सोच्नुपर्ने बताउदै देशमा स्वतन्त्रता र सुशासन सँगसँगै अघि बढाउनुपर्नेमा मन्त्री कार्कीले जाेड दिए । “देश विकसित, सभ्य र सुन्दर बनाउन अनुशासन पहिलो प्राथमिकता हो ।” आचारसहिंतामा जुनजुन ठाउँमा अप्ठेरो, अस्प्रष्टता र अघि बढ्न व्यवधान छन् तिनलाई हटाउन मन्त्रालय साथमा रहेको मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।
आजदेखि लागू भएको आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उनले उल्लेख गरे । आचारसहिंता जति धेरै विचार, विमर्श, छलफलबाट ल्यायो कार्यान्वयन गर्न त्यति नै सजिलो हुने मन्त्री कार्कीको भनाइ छ । मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आचारसहिंताले विज्ञापनको क्षेत्र थप प्रतिस्पर्धी र पारदर्शी हुने अपेक्षा व्यक्त गरेका थिए ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरेर याे आचारसंहिता तयार गरिएकाे बचाए । बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले आचारसहिंताले केही समयमा नै नतिजा दिने विश्वास व्यक्त गरे ।

मिडिया सोसाइटी नेपालका मदन लम्सालले नेपालमा कुन मिडिया हो र कुन होइन भनी नियमन आवश्यक रहेको औँल्याए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचारसहिंताका कारण काउन्सिललाई अनुगमन गर्न सजिलो भएको उल्लेख गरे ।
विज्ञापन सङ्घ नेपालका अध्यक्ष सोम धितालले विज्ञापनमा मात्रै नभएर सबैतिर रहेको बेथिति हटाउनुपर्नेमा जोड दिए । पत्रकार बबिता बस्नेतले आचारसहिंता लागू भएपछि विज्ञापनमा महिलाको शरीरभन्दा मस्तिक देखिने अपेक्षा गरेकाे बताइन । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको हो । यसअघि यससम्बन्धी छुट्टै आचारसहिंता थिएन ।






काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण… 



