कस्तो आउँदैछ मौद्रिक नीति ? यस्ताे छ गभर्नर अधिकारीकाे भनाई

-



     सफल आवाज    
     असार २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंक यतिखेर मौद्रिक नीति बनाउने अन्तिम तयारीमा जुटिरहेको छ । विभिन्न सरोकारवालाहरूसँग सुझाव संकलन गरेर अहिले यसबारे विचार बिमर्श गर्ने काम राष्ट्र बैंकले गरिरहेको छ ।

यसैबीचमा गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको दबाबलाई निकास दिनेगरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताएका छन् ।

आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेको बताएका छन्।

गभर्नर अधिकारीले अहिले अर्थतन्त्रमा परेको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरू नै यो वर्ष प्रयोग हुने अवस्था आएको बताए ।

उनले राष्ट्र बैंकले मौद्रिक नीति असार अन्तिममा ल्याउने तयारी गरेपनि सम्भव नहुँदा साउनको पहिलो साता मौद्रिक नीति ल्याउने बताए।

उनले भने ,‘मलाई कताकता लाग्छ हामी यस्तो बेला परिएछ संसारभरका अर्थशास्त्रीले निकालेका सिद्धान्तहरुका प्रयोग यतिबेला नै गर्न पाइने जस्तो भइरहेको छ । व्यवहारिक हिसावले त्यो अवस्था छ । सबैले अर्थतन्त्रका सबै सूचकको विषयमा जानकारी नै हुनुहुन्छ । उद्योग व्यवसायमा लाग्ने साथीहरुले दबाब र सहज दुवै महशुस गर्नुभएको छ । हामी मौद्रिक नीतिको तयारीमा छौं । मौद्रिक नीति असारको अन्त्यमा ल्याउँछौं नसके साउन महिनाको पहिलो साता ल्याउने तयारीमा छौं । मौद्रिक नीति सकेसम्म अहिले अर्थतन्त्रमा परेको प्रभावलाई निकास दिनेगरी कसरी ल्याउन सकिन्छ भन्ने हिसावले ल्याउने तयारी छ । मौद्रिक नीतिले करको विषयमा केही गर्दैन ।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा सेभिङ कमजोर हुँदै जाने र फजुल खर्चहरू बढ्दै जाने अवस्था भइरहेको बताए । उनले पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृतिमा सुधार नआएको बताएक छन् ।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र रहेकाले त्यसको असरले अर्थतन्त्रको वाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरेका छन् ।

उनले अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिव ३ खर्ब रुपैयाँ ‘आउट फ्लो’ भएको बताएका छन् । पैसा बाहिर पठाउँदा बैंकहरुले राष्ट्र बैंकसँग डलर किन्नुपर्ने र त्यसका लागि ठूलो रकम राष्ट्र बैंकमा आउने गरेकाले पनि बैंकिङ प्रणालीमा तरलताको समस्या भएको उनको भनाइ छ ।

उनले बैंकको ब्याजदर बढ्दै जाने संकेत भएकाले उद्योगी व्यवसायीहरुले सहनुपर्ने बताएका छन् । गभर्नर अधिकारीले सरकार,राष्ट्र बैंक निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले मौद्रिक नीतिहरु सर्पपनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको उनले बताए । गभर्नर अधिकारीले मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे ।

उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज , समग्र अर्थतन्त्रलाई पनि सही ट्रयाकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायीत्व दिने राष्ट्र बैंकले तयारी गरिरहेको बताए ।