कहिले हुन्छ हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता ?

-



     सफल आवाज    
     असार २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ असार । हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने अनौपचारिक सहमति भएको छ ।

हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटीले लगभग तय गरेकोले एक–दुई दिनभित्रै सहमति हुने सिभिल बैंक स्रोतले जानकारी दिएको छ ।

बैंक स्रोतका अनुसार लामो बहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रतिकित्ता ८१ रूपैयाँमा गाभिन तयार भएको हो ।

मर्जरपछिको नयाँ बैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल बैंकका सुनिल पोखरेल हुने सहमति भएको छ ।

यसअघि नेपाल इन्भेष्टेमन्ट बैंकसँग मर्जर सम्झौता गरेको हिमालयनले उक्त मर्जर प्रक्रिया भाँडिएपछि नयाँ पार्टनर खोज्न थालेको हो ।

कर्मचारी सञ्चयकोषको १४ प्रतिशत लगानी रहेको हिमालयनसँगै सिभिलमा पनि कोषकै ८ प्रतिशत शेयर लगानी छ ।