सिभिल र हिमालयन बैंककाे मर्जर सम्झौतामा स्वाप रेसियो कम भएपनि सिभिलका लगानीकर्तालाई यस्ताे छ फाइदा

-



     सफल आवाज    
     असार ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असार । अन्तत: सिभिल बैंक र हिमालयन बैंकबीच बुधबार मर्जर सम्बन्धी सम्झौता भएको छ । सिभिल बैंक हिमालयनमा गाँभिने गरी सम्झौता हुँदा स्वाप रेसियो कम देखिए पनि सिभिलका लगानीकर्तालाई याे मर्जरले फाइदा हुने भएको छ ।

सिभिल बैंकले आफ्ना लगानीकर्तालाई मुस्किलले ५ प्रतिशत मात्रै लाभांश दिन सकेको थियाे । तर आगामी वर्ष यसका लगानीकर्ताले पाउने लाभांश कम्तीमा ४ गुणा बढ्नेछ । अहिले पनि सिभिल बैंकको तुलनामा हिमालयको लाभांश ४ गुणाभन्दा बढी छ ।

सिभिल बैंकका शेयरधनीको १०० कित्ता शेयर हुँदा हिमालयसँग गाँभिएर एकीकृत कारोबार भएपछि ८१ कित्ता पाउनेछन ।

सिभिल बैंकका शेयरधनीले पछिल्लो १ दशकमा औसतमा पाएको लाभांश नै करिब ५ प्रतिशत मात्रै भएकाे हुँदा स्वाप रेसियो कम देखिँदा पनि सिभिलका लगानीकर्तालाई भने राम्रो फाइदा भएको बिष्लेषण गरिएकाे छ।

अब हिमालयनसँग गाँभिएपछि सिभिलका शेयरधनीले कम्तीमा पनि त्यसको ४ गुणा बढी प्रतिफल आगामी आवबाटै पाउँछन् ।

हिमालयन बैंकले पछिल्लो १ दशकमा औसतमा २४ प्रतिशत लाभांश दिएको छ । हिमालयले अहिलेसम्म १५ प्रतिशतभन्दा तल झरेर लाभांश दिएको छैन ।

हिमालयन बैंकको अहिले चुक्तापुँजी १२ अर्ब ६८ करोड छ । सिभिल बैंकको ९ अर्ब ७ करोड छ । बैंक एकआपसमा गाँभिएपछि २० अर्ब माथी चुक्ता पुँजीको बैंक हुने भएको छ ।

स्वाप रेसियोबाट हिमालयन बैंकले १ अर्ब ७२ करोड पाउनेछ, जुन हिमालयन बैंकका शेयरधनीलाई समेत लाभांश बाँड्न मिल्छ । सिभिललाई गाँभेपछि हिमालयन बैंकको निक्षेप २ खर्ब ५५ अर्ब रुपैयाँभन्दा बढी हुन्छ भने कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ हुनेछ ।