अब जडीबुटीको पनि बीमा हुने

-



     सफल आवाज    
     श्रावण १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ साउन। नेपालमा कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ लागू भएको छ । आर्थिक वर्षा २०७९/८० को वार्षिक बजेटमा नेपाल सरकारले जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने उल्लेख गरेअनुसार बीमा समितिले जडीबुटी बीमासमेत समावेश गरी सो निर्देशिका जारी गरेको हो ।

यो निर्देशिका जारी भएसँगै यसअघिको कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ खारेज भएको छ । संशोधित निर्देशिकाबमोजिम अब बीमा कम्पनीले आफूलाई तोकिएका जिल्लामा कृषि, पशुपन्छी तथा जडीबुटी खेतीको बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि तथा पशु सेवा कार्यालय नजिकको स्थानमा बीमकले शाखा कार्यालय खोल्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिकामा पशुपन्छी बीमालेखमा उल्लेख भएको हकमा बीमालेख बमोजिम र अन्यको हकमा बजार मूल्य, बिजक मूल्य र स्थानीय चलनचल्तीको मूल्यलाई आधार लिई आपसी सहमतिका आधारमा बीमाङ्क कायम गर्नुपर्नेछ।