
काठमाडौं, २ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य तत्काल नघटाउने भएको छ। निगमले आइतबार साउन १ गते एक विज्ञप्ति जारी गरी इन्डियन आयल कर्पोरेशनबाट जुलाई १६ मा पेट्रोलियम पदार्थको घटेको मूल्यसूची प्राप्त भए पनि अझै मासिक ४ अर्बभन्दा बढी घाटामा रहेकाले तत्काल मूल्य नघट्ने जनाएको हो।
निगमले अनुसार पछिल्लो मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर १४।१९, डिजेलमा २१।९२ तथा ग्यासमा प्रति सिलिण्डर ५८२।४२ रुपैयाँ घाटा रहेको उल्लेख गरेको छ। यस हिसाबले १५ दिनमा निगमलाई २ अर्ब १६ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।
सरकारले यसअघि अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव अनुरुप स्वचालित रुपमा मूल्य समायोजन हुने बताउँदै त्यसै अनुसार घटबढ गर्दै आएको थियो। तर अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढ्ने तर अन्तरराष्ट्रिय बजारमा मूल्य घट्दा भने विभिन्न कारण देखाएर नघटाउने वा अनुपात अनुसार नघटाउने प्रवृत्ति रहँदै आएकाले उपभोक्ताहरु पीडित हुँदै आएका थिए।
अहिले पनि आईओसीको सूची अनुसार मूल्य नघट्ने जानकारीपछि उपभोक्तामाझ आयल निगमप्रतिको हेराई अझ नकारात्मक हुन पुगेको छ।

आईओसीबाट पेट्रोल र डिजेलमा १६-१६ रुपैयाँ घटेर आउँदा समेत किन मूल्य नघटाउने? भन्ने प्रश्नमा निगमका सह-प्रवक्ता पुस्कर कार्कीले भने, ‘आईओसीको नयाँ मूल्यअनुसार मासिक नोक्सानी ९ अर्ब ४० करोडबाट घटेर ४ अर्ब ३२ करोडमा आएको छ। तर यो नोक्सनी शून्यमा नआई मूल्य घटाउन सक्ने स्थिति रहँदैन। अर्को मूल्य सूची आउँदा नोक्सानी शून्यमा आयो भने मूल्य अवश्य घट्छ।’
उनले आईओसीलाई तिर्न बाँकी बक्यौता असार मसान्तसम्म ३१ अर्ब २० करोड रुपैयाँ रहेकोले सरकारसँग ऋणका लागि आह्वान गरेको र असार ३१ गते ७ अर्ब ऋण दिने निर्णय गरेको पनि बताए।
यस्तै फिर्ता पाएको पूर्वाधार विकास शुल्क ५९ करोड, सरकारको ऋण ७ अर्ब र निगमको केन्द्रीय कार्यालयको जग्गा धितोमार्फत् लिन लागिएको ३ अर्ब गरी समग्रमा १० अर्ब ५९ करोड रुपैयाँ आईओसीलाई बुझाएर बक्यौता घटाउन लागिएको पनि सह प्रवक्ता कार्कीले सफलआवाजलाई जानकारी दिए।
यो पनि पढ्नुहोस्








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




