सामान्य परिवारमा जन्मिए, ठूलो औद्योगिक घराना जन्माए

-



     सफल आवाज    
     श्रावण २ गते २०७९ मा प्रकाशित



निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष सतिश कुमार मोर लक्की ग्रुपको संस्थापक एवम् अध्यक्ष हुन् । सोही ग्रुपमार्फत माेरले अहिले विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् ।

मोरको यो ग्रुप अहिले व्यापारिक विरासत बोकेको एउटा ‘जम्बो’ ग्रुप बनिसकेको छ । यो ग्रुप मोरको आफ्नै बलबुतामा निर्माण भएको हो । अर्थात् सामान्य व्यापारिक परिवारलाई एउटा जम्बो व्यापारिक तथा औद्योगिक घराना बनाउन मोर सफल भएका छन् ।

४० वर्षको व्यावसायिक यात्रामा धेरै आरोह अवरोह पार गर्दै अहिले यो स्थानमा आइपुगेको बताउने उद्योगी सतिश मोरको विगत र वर्तमानलाई यहाँ छाेटकरीमा समेट्ने प्रयास गरिएको छ ।

आजभन्दा ६३ वर्षअगाडि सतिश मोर विरगञ्जको सामान्य परिवारमा जन्मिएका हुन । सतिशको जन्म भएको लामो समयपछि मात्रै उनको बुवाले सामान्य व्यापारीका रूपमा काम गर्न थालेका थिए ।

त्याे समय सतिशका बुवा मुरलीधरले विरगञ्जमा कपडाको व्यापार शुरू गरेका थिए । सतिशले आफ्नो बाल्यकाल विरगञ्जमै बिताए । उनले विरगञ्जको त्रिभुवन माध्यमिक स्कुलबाट एसएलसीसम्म अध्ययन गरे ।

एसएलसीपछि उनले ठाकुरराम बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन शुरू गरे । त्यतिखेर उनको पढाइ पनि उत्कृष्ट नभई मध्यम खालको थियो । त्यसमा पनि उनले मन लगाउन सकेनन् । उनी सम्झन्छन्,‘त्यो बेला पढाइमा खासै मन लगाउन सकिएन ।’ त्यसपछि थप अध्ययनका लागि उनी भारततर्फ हानिए । उनले भारतको बनारसमा अध्ययन शुरू गरे । त्यहाँ उनको अध्ययन ३ वर्षसम्म चल्यो । उनी विरगञ्ज फर्किएपछि मात्रै बुवा मुरलीधरले विरगञ्जको धर्मशालामा रेडिमेड कपडाको व्यापार शुरू गरे ।

व्यापार सानै थियो । तर पछि त्यही व्यापार विस्तार हुँदै विरगञ्जकै माइस्थानमा पनि शुरू भयो । सन् १९७८-७९ मा मोर परिवारले कपडा व्यापारबाट उद्योगतर्फ अगाडि बढ्ने साेच बनायाे ।

बुवाले विरगञ्जको परवानीपुरमा राइस मिल, दाल मिल, प्लास्टिक मिल र छाला उद्योग सञ्चालन गरे । समय बित्दै जाँदा सतिश पनि थप परिपक्व हुँदै गए । सन् १९८० मा उनले विवाह गरे । सतिशले आफ्नो बुवालाई भने काममा खासै सहयोग गर्न भ्याएनन् । तर मनमनै अब आफैं व्यवसाय गर्ने सोच बुन्न थालिसकेका थिए ।

‘बुवाको व्यवसाय देखेपछि आफैंलाई केही गर्न रहर लाग्यो,’ विगत सम्झँदै सतिशले सुनाए । उनीसँग के गर्ने भन्ने केही सोच वा योजना थिएन । तर मात्र सोच थियो व्यवसाय गर्ने, व्यवसायी बन्ने । त्यसपछि उनले आफ्नो बुवासँग आफूले पनि व्यवसाय गर्ने सोच बनाएको कुरा राखे । उनको प्रस्तावलाई बुवाले सहजै स्वीकारिदिए ।

व्यावसायिक यात्रामा दुई भाइको साथ
उनले आफ्नो व्यावसायिक यात्रामा आफ्ना दुई भाइलाई पनि संगै अगाडि बढाउने सोच राखे । त्यो सोचलाई सार्थक बनाउन सन् १९८१ को मार्च महिनामा आफ्ना दुई भाइ श्रवण र राजकुमार सहित सतिश काठमाडौंतिर हानिए ।
नयाँ ठाउँ, नयाँ वातावरण र नयाँ सोच ।तीनै जना दाजुभाइलाई के गर्ने भन्ने अन्योल थियो । समय बित्दै जाँदा सतिशले काठमाडौंको टेकुमा ‘टायर हाउस’ सञ्चालन गरेर औपचारिक रूपमा व्यवसायिक जीवन शुरू गर्न पुगे ।

सतिशले आफ्नो कम्पनीलाई डनलप टायरको काठमाडौंका लागि आधिकारिक वितरक बनाए । त्यसबेला करिब ४-५ लाख रुपैयाँ लगानीमा टायर व्यापार शुरू गरिएको उनी बताउछन । उनको व्यापारलाई दुई भाइले साथ दिए । सतिशले दुई भाइलाई त्यो पसल सम्हाल्न लगाएर आफू व्यापार व्यवसाय विस्तार तर्फ लागे ।

उनले त्यतिबेला जापानको योकोहामा टायरको पनि आयात तथा बिक्रीवितरण गर्न थालिसकेका थिए । उनलाई शुरूवाती व्यापारले नै साथ दिँदै गयो । व्यापारमा सिक्दै गर्दा अप्ठ्यारो खासै भोग्नुनपरेको सतिश सम्झन्छन् । जापानको टायर बिक्रीपछि उनले दक्षिण कोरियाको टायर पनि ल्याएर बेचे । बिस्तारै सतिशले चीनबाट पनि विभिन्न सामान ल्याएर बेच्न थाले ।

यसरी शुरू भयो सतिश माेरकाे औद्योगिक यात्रा
समयक्रमसँगै सतिश व्यापारिक तथा व्यावसायिक क्षेत्रमा जम्दै गए । बिस्तारै उनले उद्योगतर्फ पनि अगाडि बढ्ने सोच बनाए । त्यसपछि उनले नन्दन वनस्पति घ्यु उद्योग सञ्चालनमा ल्याए । यसमा उनले अर्को साथीको समेत साथ लिएका थिए । केही समयपछि उनले बुटवलस्थित लुम्बिनी विद्युत उद्योग खरिद गरे । सँगै सिमरामा प्लास्टिक उद्योग पनि सञ्चालनमा ल्याए । औद्योगिक यात्रामा सतिश जम्दै जाँदा उनका दुई भाइले व्यापार सम्हाल्दै गए ।

यी उद्योगसँगै सतिशले विभिन्न औद्योगिक घरानाहरूसँग मिलेर सन् २००३ मा शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याएका थिए । शिवम् सिमेन्टमा सतिशको लक्की ग्रुपसहित अन्य ग्रुपको पनि लगानी छ ।

यसपछि चीनको लगानीमा नेपालमा स्थापित होङ्सी सिमेन्ट उद्योगमा समेत सशितले लगानी गरे । ७० प्रतिशत होङ्सीको र ३० प्रतिशत नेपाली उद्योगीको लगानीमा होङसी सिमेन्ट उद्योग सञ्चालनमा छ । जसमा सतिशको पनि ठुलै लगानी रहेको छ ।

सतिशले निर्माण उद्योगमात्र नभई सेवामूलक उद्योगतर्फ पनि उत्तिकै सक्रियताका साथ लगानी गरेका छन् । तत्कालीन बैंक अफ एसियामा सतिशलाई प्रोमोटरको रूपमा लगानीको अवसर मिलेको उनी सम्झन्छन् ।

तत्कालीन बैंक अफ एसियामा उनले करीब २ करोड रुपैयाँ लगानी गरेका थिए । सो बैंकमा उनी बोर्ड डाइरेक्टर पनि बनेका थिए । एनआईसी एसियामा सो बैंक विलय भएसँगै सतिशले आफ्नो लगानी लिएर बाहिरिए । अहिलेपनि माेरकाे र लक्की ग्रुपकाे बिभिन्न बैक, बित्तिय संस्था, इन्स्युरेन्सहरूमा लगानी रहेकाे छ

पारिवारिक विरासत
एक सफल उद्योगी एवं व्यापारीका रुपमा स्थापित सतिशसँग अहिले लक्की ग्रुपको ४० वर्ष लामो विरासत छ । उनी अहिले एक व्यापारीमा सीमित छैनन् । सफल औद्योगिक घरानाको ब्यक्तित्वका रूपमा समेत स्थापित भएका छन् ।

लक्की ग्रुप अहिले विशुद्ध पारिवारिक औद्योगिक घराना बन्न पुगेको छ । लक्की ग्रुपमा उनले आफूसँगै आफ्ना दुई भाइ श्रवण र राजकुमारलाई समेटेका छन् । यस्तै भाइका छोरा, बुहारी र आफ्ना छोरा अमित र बुहारी समेत लक्की ग्रुप अन्तर्गत नै रहेर व्यावसायिक यात्रा गरिरहेका छन् । सतिश भन्छन्,‘जबसम्म बच्चा वा भाइहरूमाथि विश्वास गर्दैनौँ, तब हामी सफल हुँदैनौँ । जे पनि मै गर्छु भन्ने भावना राख्नुहुँदैन।’

सतिशका अनुसार लक्की ग्रुपमा विकेन्द्रीकरण सिस्टम छ । जसले जुन काम हेरिरहेको छ, उसलाई पूरै अधिकारसहित काम गर्ने वातावरण दिइएको छ । उनले आफ्ना छोरा अमितलाई उच्च अध्ययन सकेर अमेरिकाबाट फर्किएपछि आफूसँगै व्यवसायिक यात्रामा सामेल गराएका छन् । अहिले अमित समग्र लक्की ग्रुप र गणपति वनस्पति प्रालिलाई अगाडि बढाइरहेका छन् ।

लक्की ग्रुुपले निर्माण तथा उत्पादन क्षेत्र, व्यापार, सेवामूलक क्षेत्र तथा फाइनान्स र इन्स्योरेन्समा आफ्नो लगानी विस्तार गरेको छ । १६ वटा मुलुकमा आफ्नो व्यापार विस्तार गरेको यस ग्रुपले हाल एक हजारभन्दा बढी जनशक्तिलाई रोजगारी दिइरहेको सतिश बताउँछन् । बुवाको सहमति र दुई भाइको साथले शुरू भएको व्यावसायिक यात्रामा उनले आज आफू मात्र नभई परिवारलाई नै सफल बनाउँदै लगेका छन् ।

विभिन्न संघ संगठनमा नेतृत्व
औद्योगिक यात्रामा जम्दै गएका सतिशले समयक्रमसँगै विभिन्न संघसंस्थामा समेत नेतृत्व गर्न पुगे । नेपाल अटोमोबाइल एसोसियसन, टायर एसोसियसन लगायतका संस्थाहरूमा उनी विभिन्न भूमिकामा उभिएका छन ।

यस्तै नेपाल वैदेशिक व्यापार एसोसियसनमा अध्यक्षको जिम्मेवारी पनि उनले वहन गरे । उनी सामाजिक संस्था लायन्स क्लब अफ काठमाडौं मिडटाउनमा पनि निकै समय सक्रिय रहे । त्यो क्लब मिडटाउन फ्रेण्ड्सको नाममा आजसम्म चलिरहेको छ ।
यस क्रमसँगै निजी क्षेत्रको प्रतिनिधि संस्थामध्येको एक नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षको भूमिकामा समेत सतिश रहेका थिए ।

‘लगानीको अवसरलाई क्याच गर्न सकेनौं’
नेपाल लगानीका लागि उर्वर भूमि हो । लगानीका लागि निकै राम्रो अवसर यहाँ भए पनि त्यसलाई ‘क्याच’ गर्न नसकेको सतिशको बुझाई छ ।

सरकारको नीति तथा अन्य विभिन्न पाटाहरूले पनि राम्रा अवसरहरू लुकिरहेको उनले महसुस गरेका छन् । औद्योगिक क्षेत्रमा काम गर्नका लागि युवा उद्यमीहरूले हिम्मत गरेरै अगाडि बढ्नुपर्ने आवश्यकता उनी देख्छन् ।

‘युवाहरूले नेपालमा अवसर देख्न जान्नुपर्छ, त्यसलाई क्याच गर्न जान्नुपर्छ,’ सतिश भन्छन्,- ‘हिम्मत गरेरै औद्योगिक यात्रामा युवाहरू आउन् भन्ने मलाई लाग्छ ।’