
काठमाडौं, ३ साउन । विश्वव्यापी माटो जोगाऔँ अभियान अन्तरगत नेपालमा सुरु गरिएको देशव्यापी दौडले ३६ औं दिन १५ सय किलोमिटर पूरा गरेको छ । माटो जोगाऔँ अभियानका स्वयंसेवक यम बहादुर चोचाङ्गी पुन (नबिन पुन मगर) ले जेष्ठ ३० देखी काठमाडौंबाट देशव्यापी दौड सुरु गरेका थिए ।
माटो विनाश बारे जानकारी फैलाउने र माटो जोगाउन सबै नेपालीमा सन्देश पुर्याउने उद्देश्यले पुनले सातवटै प्रदेश पुग्ने गरी ३५०० कि.मी दुरीको लक्ष्य लिएका छन् । बागमती प्रदेशबाट सुरु भएको दौड मधेश प्रदेश हुँदै प्रदेश १ पुगेर पुन: बागमती प्रदेश प्रवेश गरी नुवाकोट हुँदै गण्डकी प्रदेश लागेको छ । लगभग ७५ दिनको दौड तराई हुँदै पूर्वी सीमा पुगी अब गण्डकी प्रदेश हुँदै पश्चिम तिर लागेर बाँकी २ हजार किलोमिटर पूरा हुनेछ ।
दौडका क्रममा धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, धनुषा, सिराहा, सप्तरी, सर्लाही, रौतहट, उदयपुर, सुनसरी, मोरङ्, झापा, ईलाम, पाँथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ्, ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर लगायतका जिल्लाका विभिन्न स्थानमा २५ वटा भन्दा धेरै कार्यक्रम गरी प्रत्यक्षरुपमा झण्डै ६ हजार मानिसहरुसँग अन्तरक्रिया गरी माटो विनाशबारे जनचेतना फैलाउने र आम मानिसलाई माटो जोगाउन जागरुक हुन प्रेरित गरिएको छ ।
अभियानका क्रममा सम्पूर्ण नेपालीबाट अपार साथ र माया पाएको र यसले उर्जा प्रदान गरेको धावक नबिन पुन मगरले बताए। दौडको एक महिना पूरा भइसक्दा पुन भन्छन्, “सुरुवाती दिनमा तराईको गर्मीले धेरै चुनौती दियो, धेरै रिस्क लिइएछ क्या हो जस्तो लाग्यो तर अहिले दौडिन सामान्यप्राय: भइसक्यो।” स्थानीय स्तरमा माटोबारे धेरै चासो र चिन्ता रहेको बताउँदै मगरले राजनीति, धर्म, जात, भूगोल आदिलाई भुलेर माटो जोगाउन सबै लाग्नुपर्ने र माटो सबैको साझा सवाल हुनुपर्नेमा जोड दिए ।
यात्राका क्रममा मगरलाई माटो जोगाऔँ अभियानका स्वयंसेवक भूमिपुत्रहरु, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ, स्थानीय सरकार, प्रदेश सरकार, स्थानीय संघ संस्था, लायन्स क्लब, कृषि ज्ञान केन्द्र, विद्यालय, कलेज, स्थानीय जनता लगायतले पूर्ण साथ र हौसला प्रदान गरिरहेका छन् ।
“माटो जोगाऔँ” सदगुरुद्वारा सुरु गरिएको विश्वव्यापी अभियान हो । यसले हाम्रो माटो र धरती जोगाउनको लागि जागरूक दृष्टिकोणसहित काम गर्न प्रोत्साहन गर्दछ । विश्वस्तरमै माटोलाई विनाश हुनबाट जोगाउनको लागि माटो जोगाऔँ अभियानअन्तर्गत सद्गुरुद्वारा थालनी गरिएको यात्रा २१ मार्च, २०२२ मा लण्डनमा शुरु भई यूरोप, मध्य-एशिया र मध्य-पूर्व गरी २७ राष्ट्रहरूमा पुगेको थियो ।
ईशा फाउण्डेशनका संस्थापक सद्गुरुको १०० दिने एकल मोटरसाइकल यात्रा २७ राष्ट्रहरू र भारतका ९ राज्यहरू हुँदै ३०,००० कि.मी. पूरा गरी तमिलनाडुस्थित ईशा योग केन्द्रमा रहेको भव्य आदियोगीको प्राङ्गणमा २१ जुनको रातमा समापन भएको थियो ।






काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण…
काठमाडौं, ९ मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिना (कात्तिक मसान्त) सम्ममा…
प्योङयाङ, ९ मङ्सिर । उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालय प्रमुख सिल्भेन एस्टियरलाई ४८ घण्टाभित्र देश…
जियुक्वान (चीन), ९ मङ्सिर । चीनले पहिलो पटक विदेशी अन्तरिक्ष यात्रीलाई समेत सहभागी गराउँदै बुधबार दुई… 



