सीसीटीभी फुटेजबारे प्राविधिक तथा विज्ञसँग विशेष समितिले छलफल गर्दै

-



     सफल आवाज    
     श्रावण ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ असार । चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय र पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले सीसीटीभी फुटेजका विषयमा प्राविधिक तथा विज्ञसँग छलफल गर्ने भएको छ।

आज मंगलबारदेखि सीसीटीभीसँग सम्बन्धित अन्य विज्ञसँग छलफल गरिने संसदीय छानबिन विशेष समितिले जनाएको छ।
त्यसपछि मात्रै समितिले पूर्वअर्थमन्त्री शर्मासँग सोधपुछ गर्ने भएको छ।

अर्थसचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करसँग सोधपुछ गरेपछि समिति सीसीटीभी फुटेजमा केन्द्रित भएको हो।
सोमबारको समितिको बैठकमा अर्थ मन्त्रालयका आईटी विज्ञसँग सोधपुछ गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्न गठित समितिले गत मंगलबारदेखि काम थालेको थियो।
समितिले पहिलो चरणमा बजेट निर्माणताकाको सीसीटीभी फुटेज मगाएको थियो।

जेठमा बजेट निर्माण भएको कुरालाई केन्द्रमा राखेर सीसीटीभी फुटेज मगाए पनि असारको रेकर्ड भएको हार्डडिस्क उपलब्ध गराइएको छ। जेठको रेकर्ड नभएको तथा डिलिट भएको जस्ता बयान मन्त्रालयका कर्मचारीहरूले दिएका छन्।

सोही हार्डडिस्कमा रहेकोमा डिलिट भएको अवस्थामा फिर्ता ल्याउने प्रविधिबारे समितिले छलफल गरिरहेको छ। तर, उक्त हार्डडिस्कमा जेठ महिनाको सीसीटीभी फुटेज रेकर्ड भएर डिलिट भएकोमा समेत यकिन नरहेको बुझिएको छ।