मध्यविन्दु नगरपालिकाद्वारा पाँच सामुदायिक विद्यालयलाई बस प्रदान

-



     सफल आवाज    
     श्रावण ४ गते २०७९ मा प्रकाशित



नवलपरासी (बर्दघाट-सुस्तापूर्व), ४ साउन । मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको लागत सहभागितामा बस प्रदान गरिएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेले बताए ।

सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउन आर्थिक वर्ष २०७८-७९ को बजेटबाट नगरपालिकाले प्रतिबस रु १८ लाख अनुदान दिएको र यसमा विद्यालयको लागत पाँच लाख रुपैयाँ मात्र रहेको पाण्डेको भनाइ छ ।

“हामीले नगरपालिकाको करिब ८० प्रतिशत अनुदानमा सामुदायिक विद्यालयलाई बस प्रदान गरेका छौँ”, पाण्डेले भने, “बसमा विद्यालयको लागत अनिवार्य गरेका छौँ।”

नगरपालिकाले प्रदान गरेको बस प्राप्त गर्नेमा मध्यविन्दु–३ को जनता मावि, मध्यविन्दु–११ को वीरेन्द्र मावि, मध्यविन्दु–१२ को यादव मावि, मध्यविन्दु–१३ को सरस्वती मावि र मध्यविन्दु–१५ को ज्ञानोदय मावि रहेका छन् ।

नगरप्रमुख भीमलाल अधिकारीका अनुसार नगरपालिकाले हालसम्म नगरका १० सामुदायिक माध्यमिक विद्यालयलाई बस प्रदान गरिसकेको छ । विद्यालय यातायात व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत नगरभित्रका सामुदायिक माविलाई बस उपलब्ध गराइएको हो।