गोल्डन ओक १२ औं कृति अवार्डस् आगामी भाद्र २६ गते हुने

-



     सफल आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ साउन । नेपाल विज्ञापन संघ आनले १२औं कृति अवार्डस् आगामी भाद्र २६ गते आयोजना गर्ने भएको छ। आनले २०६० सालदेखि गर्दै आएको यो समारोहको यसपटकको संस्करणको नाम गोल्डेन ओक १२औं कृति अवार्डस् रहेको छ। विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्ड् १२औं संस्करणको टाईटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ।

१२औं संस्करणको कृति अवार्ड्स प्रायोजनका लागि काठमाडौंमा बुधबार संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरेको आनका कार्यकारी निर्देशक अर्जुन मोहन भट्टराइले सफल आवाजलाई जानकारी दिए।

विज्ञापन क्षेत्र लगायत समग्र मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा हरेक वर्ष आयोजना हुँदै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ वर्ष हुन सकेको थिएन।

हस्ताक्षर कार्यक्रममा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले मुलुककै समग्र सञ्चार क्षेत्रको समसामयिक व्यावसायिक परिस्थिति झल्काउने प्रतिष्ठित कार्यक्रममा आफ्नो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताए ।

यस्तै नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टिलरी लि। र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद दिँदै भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज बिचमा सहकार्य रहिरहने विश्वास व्यक्त गरे ।

कार्यकारी निर्देशक भट्टराईका अनुसार गोल्डेन ओक १२औं कृति अवार्डसमा २०७६ वैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिने छ । यसका लागि संघका सदस्य एजेन्सीहरुले २०७९ श्रावण ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सक्ने भट्टराईले बताए ।

गोल्डेन ओक १२औं कृति अवार्डसमा विज्ञापन सिर्जनशीलता सम्बद्ध मेन स्ट्रिम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिने संघको भनाइ छ ।

सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा. डा. बिजय के.सी., प्रा. डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यीय प्रमुख निर्णायक मण्डलले मनोनयनहरुको छनौट तथा मूल्याङ्कन गर्ने बुझिएको छ ।

यसबाहेक अन्य विभिन्न विधामा परेका मनोनयनहरुलाई भने सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट्टा—छुट्टै निर्णायक समितिहरुले छनौट र मूल्याङ्कन गर्ने कार्यकारी निर्देशक भट्टराइले जानकारी दिए ।