मेची भन्सारबाट १ करोड ८७ लाख असूल गर्नू: महालेखा

-



     सफल आवाज    
     श्रावण ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ साउन । मेची भन्सार कार्यालयबाट राजस्व छली गरिएको एक करोड ८७ लाख ८० हजार रुपैयाँ उठाउन महालेखाले सुझाव दिएको छ। कार्यालयबाट विभिन्न सामानको आयातमा कम मूल्य र फरक शीर्षक देखाएर छली गरिएको उक्त रकम भन्सारमा दाखिला गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको हो ।

महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार मेची भन्सार कार्यालय र सुक्खा बन्दरगाहबाट मिलेमतोमा दाना आयात गर्दै आएका पैठारीकर्ताहरुले राजस्व छली गरेको रु ८२ लाख ११ हजार भन्सार महसुल रकम असुल गर्न निर्देशन दिइएको छ ।

यसैगरी प्रतिवेदनमा दाना तथा पशुपक्षी उद्योगीले भारतबाट आर्थिक वर्ष २०७८-७९ मा भटमासको दाना आयात गर्दा कानूनबमोजिम लाग्ने भन्सार शुल्क नबुझाएर मिलेमतोमा ५० प्रतिशत छुट लिएको पनि जनाइएको छ ।

असूल गर्नुपर्ने रकममध्ये पैठारीकर्ताले पोटेटो क्र्याकर पैठारी गर्दा भन्सारमा घटी भएको महसुल र सोको मूल्य अभिवृद्धि करसमेत हुन आउने ५२ लाख २४ हजार रुपैयाँ पनि रहेको छ । भन्सारले नपकाएको पास्तामा ४० प्रतिशत भन्सार महसुल प्रतिकिलो रु १७ का दरले हुने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा न्यून भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाई जाँचपास गरेको खुल्न आएको छ ।

यसैगरी पूर्वी नाका भएर पैठारीकर्ताले फलाम वा स्पातका पाइपजस्ता मालवस्तुमा कुनै पनि सुविधा उपलब्ध नगराई महसुल असुल गरिनुपर्ने प्रावधि भएपनि प्रज्ञानपत्रबाट जाँचपास गर्दा ३१ लाख ५९ हजार राजस्वमा छली भएको देखिएकोले सो बराबरको रकम पनि दाखिला गर्नुपर्ने जनाइएको छ ।

असूल उपर गर्नुपर्ने रकममा क्लोजिङ, बोटलिङ र र्यापिङ मेसिनको समेत वर्गीकरण गरी पाँच प्रतिशत भन्सार महसुल असुल गर्नुपर्नेमा फरक भन्सारबाट जाँचपास गर्दा छुट भएको भन्सार महसुल तथा मूल्य अभिवृद्धि करसमेत रु २१ लाख ८६ हजार पनि रहेको महालेखाको ५९औं प्रतिवेदनमा उल्लेख छ ।