साउन २१ गतेभित्र फाइनान्सियल रिपोर्ट सार्वजनिक गर्न राष्ट्र बैंकले दियाे बैंकहरूलाई निर्देशन

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन। बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन तेस्रो सातासम्म अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूलाई हरेक त्रैमासको तेस्रो सातामा वित्तीय विवरण सार्वजनिक गर्न केन्द्रीय बैंकले यस्ताे निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन २०७८, संशोधन गर्दै यस्तो निर्देशन दिएको थियाे ।

बिहीबार जारी गरिएको परिपत्रमा क, ख र ग वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान व्यवस्था संशोधन गरेको उल्लेख छ।

जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण साउन २१ गतेभित्र सार्वजनिक गर्नुपर्नेछ। राष्ट्र बैंकले संशोधन गरेको निर्देशिकामा चौथो त्रैमासको अन्तरिम वित्तीय विवरण तथा प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ।

यसअघि राष्ट्र बैंकको एकीकृत निर्देशन २०७८ मा आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमाससम्मको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) २०७८ साउन मसान्तसम्म प्रकाशन गर्न पाउने व्यवस्था रहेको थियो ।

केन्द्रीय बैंकको एकीकृत निर्देशनमा बैंक तथा वित्तीय संस्थाले एकीकृत वित्तीय प्रतिवेदन लगायत प्रमुख वित्तीय सूचकहरुको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) यस प्रयोजनका लागि तोकिएको ढाँचामा हरेक त्रैमासको महिना सकिएको मितिले ७ दिनभित्र कुनै एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनिवार्य रुपमा प्रकाशित गरि सो को प्रति बैंक तथा वित्तीय संस्था नियमन विभाग र सम्बन्धित सुपरिवेक्षण विभागलाई समेत उपलब्ध गराउनुपर्नेछ ।

साथै, अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकेको ढाँचामा आफ्नो वेबसाइटमा राख्नुपर्नेछ। यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गर्नुपर्नेछ ।