मौद्रिक नीति आज सार्वजनिक गर्दै केन्द्रीय बैंक, यस्ताे छ तयारी

-



     सफल आवाज    
     श्रावण ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७९/८० का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बिहीबार साँझ गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेपछि आज सार्वजनिक गर्ने तयारी भएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आज (शुक्रबार) बिहान सञ्चालक समितिको बैठक बोलाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार बिहान ८ बजे सञ्चालक समितिको बैठक बोलाएको छ ।

सञ्चालक समितिलाई ८ बजे बैठक बस्ने भनेर जानकारी पठाइएको छ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै अहिले अर्थ मन्त्रालयको जिम्मा लिएका छन् ।

कस्तो आउला मौद्रिक नीति ?

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि कसिलो किसिमको मौद्रिक नीति ल्याउने यसअघि नै बताइसकेको छ । मौद्रिक नीति अहिले अर्थतन्त्रमा देखिएको समस्याको सुधार गर्ने खालको हुनुपर्ने विज्ञहरूले बताउँदै आएका छन्।

राष्ट्र बैंकले अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान गर्ने, सेयर बजारमा देखिएको अस्वभाविक उत्तार चढावलाई नियन्त्रण गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता विभिन्न संस्थाहरुले औंल्याएका छन्।

यसैगरी, राष्ट्र बैंकले अहिलेको आर्थिक अवस्थालाई पुनर्उत्थान गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने व्यवसायीहरुको माग रहेको छ। यता राष्ट्र बैंकले भने चालु आर्थिक वर्षको मौद्रिक नीति संकुचित खालको आउने संकेत गरिहेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको लागि ल्याउने मौद्रिक नीतिमा ब्याजदरमा कडाई, सहुलियतपूर्ण कर्जामा कटौती लगायतका विषय समेटिएको संकेत गरेका छन्। उनले विभिन्न कार्यक्रममा बोल्दै यस्तो अभिव्यक्ति दिँदै आएका छन्।