तीन महिनामा मूल्यवृद्धि अझ बढ्ने: सर्वेक्षण

-



     सफल आवाज    
     श्रावण ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ साउन । आउँदो तीन महिनामा मूल्यवृद्धि अझै बढ्ने नेपाल राष्ट्र बैंकको सर्वेक्षणले प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा अनुसार आउँदो तीन महिनामा मूल्यवृद्धि अझ बढ्ने संकेत देखिएको हो ।

राष्ट्र बैंकले गत असार २० देखि असार २७ सम्म २८ शहरका ३१ बजारक्षेत्रका मानिसहरुमा गरिएको सर्वेक्षण अनुसार आाउँदो तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने प्रक्षेपण गरिएको छ । यसैगरी सर्वेक्षणले एक वर्षपछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने पूर्वानुमान पनि गरेको छ ।

सर्वेक्षणमा १ हजार १४१ जना सहभागी रहेका र उक्त सङ्ख्या अघिल्लो अर्थात् तेस्रो त्रैमासको सर्वेक्षणमा रहेका सहभागीभन्दा ११० जना बढी रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।

उक्त सङ्ख्याका शहरी व्यक्तिमा गरिएको सर्वेक्षणले उपभोक्ताले तत्कालको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका देखाएको छ । आउँदो तीन महिनामा पनि मुद्रास्फीति अहिलेकै अनुपातमा रहने र केही समयपछि भने केही घट्ने आकलन गरेका छन् ।

‘तीन महिनापछिको मध्य अपेक्षित मुद्रास्फीति प्रक्षेपण २०७८ चैतको तुलनामा बढेको छ । एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति चैत्र, २०७८ को तुलनामा थोरै घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहेको छ । उपभोक्ताले, अहिलेको मुद्रास्फीति १४ प्रतिशत रहेको महसुस गरेका छन्। व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति समान रहने तर मध्यम अवधिमा घट्ने अपेक्षा गरेका छन्’, प्रतिवेदनमा उल्लेख छ।

४२.३ प्रतिशतले अहिलेको दरमै मूल्यवृद्धि हुने आकलन गरेका छन् भने २४.९ प्रतिशत भने मूल्यवृद्धि केही कम हुने अपेक्षा गरेका छन् । गैर–खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरू यसअघि चैत, २०७८ को तुलनामा बढेको बताइएको छ ।  

सहभागीमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् भने २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च धारणा व्यक्त गरेका छन् ।

यो सर्वेक्षणको पूर्ण पाठका लागि तलको लिंकमा जानुहोस्:

मुद्रास्फीति अपेक्षा सर्वेक्षण