प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारी गर्दै आयाेग

-



     सफल आवाज    
     श्रावण ११ गते २०७९ मा प्रकाशित



काठमाडाैं, ११ साउन । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको बताएका छन् । आयोगले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मङ्सिर ४ गतेका लागि सरकारलाई मिति सिफारिस गरेको बताए ।

“हामी निर्वाचनको आन्तरिक तयारीमा लागि सकेका छौँ ।” उनले सरकारले उपकरण उपलब्ध गराए आयोगले आगामी निर्वाचनमा विद्युतीय मतदान गराउने बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेलाई कारबाही गर्ने बताए। उनले एक लाख ५६ हजार उम्मेदवार रहेकामध्ये एक लाख उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्ने तयारी गरिएको बताए।

आयोगले खर्च विवरण सङ्कलन गरिरहेको भन्दै नबुझाउने, तोकिएको समयमा नबुझाउने र समयमा बुझाए पनि खर्च सीमाभित्र नबुझाउनेलाई आयोगले पाँचवटा टोली गठन गरी छानबिन गरिरहेको उनको भनाइ रहेको छ । निर्वाचनको परिमाण भएको एक महिनाभित्र खर्च विवरण बुझाउनुपर्दछ । उनले देशभरि नै अनलाइन मतदाता नामावली सङ्कलन गर्ने बताए ।

आगामी निर्वाचनमा स्थानीय तहमा प्रयोग गरिएका निर्वाचन सामग्री प्रयोग गर्ने बताए । “विसं २०७० को मतपेटिका अहिले पनि हामीले प्रयोग गरेका हौ । अहिले पनि ७७ जिल्ला निर्वाचन कार्यालयमा आगामी निर्वाचनमा प्रयोग गर्ने के कस्ता सामग्री छन् त्यसको विवरण पठाउन भनेका छाैं”, उनले भने, “आगामाी निर्वाचनमा पनि थुप्रै निर्वाचन सामग्री प्रयोग गर्न सकिने छ ।” आगामी निर्वाचनमा मतदाता शिक्षाका लागि विद्युतीय मिडियाको प्रयोग गरिने उनले बताए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तहको निर्वाचनको तुलनामा आगामी निर्वाचन भने खर्चिलो हुने बताए। “स्थानीय तहको निर्वाचन एकथरिका दुई करोड मतपत्र छापेका थियाैं । अबको निर्वाचन चार थरिका आठ करोड मतपेटिका छाप्नुपर्ने हुन्छ”, उनले भने, “स्थानीय तहभन्दा आगामी निर्वाचनमा खर्च बढ्छ ।” उनले आगामी निर्वाचनमा मतदान केन्द्रको पुनरावलोकन गरिने बताए। उनले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी मतदाता पनि आगामी निर्वाचनमा हुने बताए ।

कारागारका कैदी, कर्मचारी, निर्वाचनका काममा खटिएका कर्मचारी पनि मतदानमा सहभागी गराइने उनको भनाइ छ । अन्तिम नामावाली प्रकाशित गरेपछि मात्र अस्थायी मतदाताको नाम पनि प्रकाशित गरिने उनले बताए ।