गत आर्थिक वर्षमा ५ अर्बकाे विद्युतीय सवारी आयात

-



     सफल आवाज    
     श्रावण १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ साउन । नेपालमा गत आर्थिक वर्षमा ५ अर्बभन्दा बढीका १ हजार ८ सयभन्दा बढी विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को समग्र आँकडा अनुसार नेपालमा ५ अर्ब ३२ करोड, ५ लाख ५० हजार रुपैयाँ बराबरका १ हजार ८०७ ओटा विद्युतीय सवारी भित्रिएका हुन्। यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन्।

नेपाल भित्रिएका समग्र १ हजार ८०७ विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र चीनबाट ८२३ ओटा आएका छन् भने त्यसपछि अर्को छिमेकी राष्ट्र भारतबाट ६९६ ओटा आएका प्रतिवेदनमा उल्लेख छ।

चीनबाट आयात भएकामध्ये १६७ ओटा १०० किलोवाट क्षमतासम्मका तथा बाँकी ६५६ विद्युतीय सवारी १५० देखि २०० किलोवाट क्षमतासम्मका रहेका छन्। यीमध्ये १०० किलोवाट क्षमतासम्मका १६७ सवारीको मूल्य ४५ करोड ७६ लाख ८९ हजार तथा १५० देखि २०० किलोवाटसम‍‍्मका ६५६ सवारीको १ अर्ब ९९ करोड २४ लाख ४१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट आयात भएका सबै ६५६ विद्युतीय सवारी साधनहरु १०० किलोवाट क्षमतासम्मका रहेका छन् भने तिनीहरुको समग्र मूल्य १ अर्ब ७३ करोड ३५ लाख ५९ हजार रुपैयाँ रहेको छ।

यसबाहेक गणतन्त्र कोरियाबाट १०० किलोवाटसम्मका १३२ तथा १०० देखि २०० किलोवाटसम्मा ५२ ओटा विद्युतीय सवारी आयात भएका छन्। यिनीहरुको मूल्य क्रमश: ४७ करोड ४२ लाख ३२ हजार तथा २३ करोड २५ लाख ९८ हजार गरी समग्रमा ७० करोड ६८ लाख ३० हजार रुपैयाँ रहेको छ।

यसैगरी जापानबाट ३१ करोड २० लाख ३ हजार रुपैयाँ बराबरका १०० देखि २०० किलोवाटसम्मका ७८ ओटा सवारी साधन भित्रिएको तथ्याङ्क छ। यस्तै उक्त अवधिमा फ्रान्सबाट भने ३४ लाख ६२ हजार रुपैयाँ बराबरको १०० किलोवाट क्षमतासम्मको एउटा विद्युतीय सवारी आएको छ।

अमेरिका बाट भने १०० देखि १५० किलोवाटसम्मका १३ ओटा, १०० देखि २०० किलोवाटसम्मका ६ ओटा, २०० देखि ३०० किलोवाटसम्मका ४ ओटा तथा ३०० किलोवाटदेखि माथिका २ ओटा विद्युतीय सवारी आयात भएको भन्सार कार्यालयको प्रतिवेदानमा उल्लेख छ।

अमेरिकाबाट आयात भएका सबै विद्युतीय सवारीको मूल्य ११ करोड ४५ लाख ६६ हजार बराबर रहेको छ भने यी समग्र १ हजार ८०७ विद्युतीय सवारी आयातबाट १ अर्ब ४३ करोड ९२ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको छ।