नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै

-



     सफल आवाज    
     श्रावण १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ साउन । आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सिमित राखेको हो ।

यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण मन्त्रालयले गरेको हो । गत आर्थिक वर्षको वृद्धिदरमा गरिएको पछिल्लो प्रक्षेपण दोस्रो संशोधन हो।

पहिलो पटक सरकारले गत वर्षको बजेटमार्फत ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । सरकारले पछिल्लो पटक गरेको संशोधन नेपालका दातृ निकायले गरेको प्रक्षेपणकै बराबर रहेको छ । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, कृषि विकास बैङ्कजस्ता निकायले गत आर्थिक वर्ष औसतमा ४ प्रतिशतको वृद्धिदर रहने प्रक्षेपण गरेका थिए ।

केन्द्रीय तथ्याङ्क विभागले वैशाख १५ गते आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गर्दा बाँकी तीन महिना कोभिडको नकारात्मक असर नरहने र अवस्था सामान्य रहने अनुमानका आधारमा ५.८४ प्रतिशतको वृद्धिदर हुने जनाएको थियो ।

तर बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब बढ्नु, पर्याप्त तरलताको अभाव हुनु, अन्तर्राष्ट्रिय मुद्रास्फीतिको प्रत्यक्ष प्रभाव नेपालको बजारमा समेत देखिँदा अर्थतन्त्र सामान्य भने रहन सकेन ।

पेट्रोलियममा भएको अत्याधिक मूल्य वृद्धिका कारण आयातमा ठूलो रकम बाहिरिन थालेपछि सरकारले जेठ महिनाभर हप्ताको दुई दिन सार्वजनिक बिदासमेत दिएको थियो । त्यस्तै कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएर त्यसलाई चालू आवमा समेत निरन्तरता दिइएको छ ।