बढ्दैछ शेयरबजारमा आकर्षण, ५४ लाखले खाेले डिम्याट खाता

-



     सफल आवाज    
     श्रावण १७ गते २०७९ मा प्रकाशित



काठमाडौं, १७ साउन । सेयर बजारमा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्दै जाँदा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या पनि निरन्तर बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हाल डिम्याट खाताको सख्या ५३ लाख ९३१ पुगेको छ ।

डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्या पनि निकै बढेको छ । सिडिएससीका अनुसार मेरो सेयरको संख्या ४४ लाख १ हजार ५७ पुगेको छ । सिडिएससीको विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य वृद्धि भएको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा दिन तथा सेयरको अभिलेखीकरण गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या ८० रहेको छ । सि–आस्वा सदस्य लिने बैंक तथा वित्तीय संस्थाको संख्या ५५ रहेको छ ।

सर्वसाधारणले प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)मा आवेदन दिँदा डिम्याट खाता अनिवार्य चाहिने भएकाले यस्ता खाता खोल्ने क्रम बढेको सिडिएससीको भनाइ छ ।

पछिल्लो समय आइपीओमा मात्रै नभएर हकप्रद, ऋणपत्र, सामूहिक लगानी योजनामा पनि लगानीकर्ताको आकर्षण निकै बढेको छ । जसले गर्दा डिम्याट खाता खोल्ने, मेरो सेयर लिनेको संख्या बढेको छ । लगानीकर्ता प्रविधिमैत्री बन्दै जाँदा मेरो सेयर लिनेको संख्या पनि निकै बढेको तथ्यांकमा देखिएको छ ।