एनएमबि बैंकको नाफा पौने ४ अर्ब, ईपीएस कति?

-



     सफल आवाज    
     श्रावण १९ गते २०७९ मा प्रकाशित



काठमाडौं, १९ साउन । एनएमबि बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म पौने ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । हालै सार्वजनिक गरिएको उक्त अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३ अर्ब  ७० करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८९ करोड रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ६६ करोड रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा ६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकले फि कमिसन पनि ३८ प्रतिशत बढाएको विवरणमा उल्लेख छ । फि कमिसन बापत १ अर्ब ४३ करोड रुपैयाँ संकलन भएको छ ।

यसबाहेक बैंकले समीक्षा अवधिमा ४८ करोड ४३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ जसले बैंकको नाफा वृद्धि गर्न सहयोग पुर्याएको देखिन्छ। यो अवधिमा प्रति सेयर आम्दानीमा पनि बढोत्तरी देखिएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १६.६० रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्म आइपुग्दा ३.५५ रुपैयाँ बढेर २०.१५ रुपैयाँ पुगेको छ। 

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३९ करोड रहेको छ भने चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ । यसबाहेक जगेडा कोषमा ६ अर्ब ४४ करोड रुपैयाँ रहेको देखिन्छ । विवरणअनुसार उक्त अवधिमा बैंकको प्रति सेयर नेटवर्थ पनि १.४८ रुपैयाँ बढेर १४८.१४ रुपैयाँ पुगेको छ।