काठमाडौँ विश्वविद्यालयमा सञ्चार अध्ययनको स्नातकोत्तर तह शुरु

-



     सफल आवाज    
     श्रावण २० गते २०७९ मा प्रकाशित



काठमाडौँ, २० साउन ।  काठमाडौँ विश्वविद्यालयले यो शैक्षिक सत्रबाट स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) को पढाई सुरु गरेको छ ।

विगत १६ वर्षदेखि सो विषयमा सञ्चार अध्ययन विषयमा स्नातक तहसम्म पढाई हुँदै आएकोमा विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरेको विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए ।

दाहालका अनुसार एउटा शैक्षिक सत्रमा २० विद्यार्थीसम्म रहने यो तहमा एसियाको मौलिक परम्परा, संस्कृति, चलचित्र र प्रविधिलाई आधारशीला मानेर सञ्चारमाध्यमका विभिन्न आयामको अध्ययन/अध्यापन गराइनेछ । उक्त तहमा अध्ययनका लागि चार लाख रुपैयाँसम्म शुल्क लाग्ने र कुल विद्यार्थीको २० प्रतिशतसम्मलाई छात्रवृत्ति प्रदान गरिने उनको भनाइ छ ।

कार्यक्रमका बारेमा बोल्दै विश्वविद्यालयका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले उक्त तहमा एक चौथाइ अनुसन्धानसहित प्राविधिक सीप र सैद्धान्तिक ज्ञानको समिश्रण हुने र उत्पादित जनशक्ति अन्तार्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने र रोजगारमूलक हुने बताए ।