राष्ट्रबैंकको नीतिले साना ऋणीहरु मर्कामा: चेम्बर

-



     सफल आवाज    
     श्रावण २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, साउन २६ । नेपाल चेम्बर अफ कमर्सले राष्ट्रबैंकको नयाँ नीतिका कारण मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रन थालेको बताएको छ । चेम्बरका अनुसार यसबाट बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना ऋणीहरु सबैभन्दा बढी मर्कामा परेका छन् ।

राष्ट्रबैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदाले चालु पुँजीलाई कडाइ गर्ने संकेत देखिएको भन्दै यसले व्यापार सहजीकरण तथा लगानी मैत्री वतावरणमा गम्भीर असर गर्ने चेम्बरको ठम्याई छ । केन्द्रीय बैंकका अधिकांश नीतिहरु बैंक तथा वित्तीय संस्थालाई मात्रै पोस्ने खालको भएको चेम्बरको गुनासो छ ।

‘एक करोड रुपैयाँसम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशतसम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समयसम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशतसम्म यो सीमा कायम गरिनु पर्दछ,’ चेम्बरले उल्लेख गरेको छ ।

राष्ट्रबैंकको मौद्रिक नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले ब्याजदरमा पुनरावलोकन गर्न पनि चेम्बरले आग्रह गरेको छ । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरु सबैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ । ‘यसअघि निश्चित व्याजदरमा कर्जा लिएका ऋणीहरु राष्ट्रबैंकको नीतिका कारण थप समस्यामा परेका छन् । अधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरुमा परेको छ, ’ चेम्बरले भनेको छ ।

चेम्बरका अनुसार बेस रेट प्रिमियममा यसअघिको व्यवस्था अधिकतम १.५ प्रतिशत रहेकोमा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा २ र अन्यमा ४ प्रतिशत सम्मको नयाँ सीमा लगाइनुले व्यवसायिक गतिविधि प्रभावित हुने र मूल्यवृद्धि झन बढ्ने छ ।

उद्योग व्यवसाय सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा गरिएकोमा त्यसको उल्टो कर्जा बिस्तारको लक्ष्य समेत घटाइँदा अर्थतन्त्र नै संकुचनमा पर्ने चेम्बरको बुझाई छ । यस्तै नगद प्रवाह संकुचन तथा कर्जा प्रवाहको लक्ष्यलाई सीमित गरेर ब्याजदर बढाउँदा बजेटले लिएको ८ प्रतिशतको लक्ष्य र मूल्यवृद्धि ७ प्रतिशतमा सीमित कठिन हुने देखिएको छ ।

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भए पनि मौद्रिक नीतिका कारण संकुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने चेम्बरको ठहर छ । केन्द्रीय बैंकले मुद्रास्फीति घटाउन संकुचित मौद्रिक नीति ल्याएको भने पनि आपूर्ति प्रणालीमा हुने अवरोधका कारण समग्रमा मुल्यवृद्धि अझै बढ्न सक्ने चेम्बरको भनाइ छ ।

कोभिड महामारीमा दिएको सुविधा कटौति गरी अत्यावश्यक क्षेत्रलाई मात्र पुनर्कर्जा दिने व्यवस्थामा यसलाई नीतिगत लचकता सहित सुरक्षित अवतरण गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।