बागमती प्रदेश: बढ्यो लाइसेन्सको दैनिक आवेदन दिने कोटा

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि छुट्याइएको आवेदन दिन सकिने सङ्ख्या (कोटा) बढाएको छ । मन्त्रालयले लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई ध्यानमा राख्दै त्यसको व्यवस्थापनका लागि आज शुक्रबारदेखि आवेदन दिन सकिने कोटामा वृद्धि गरेको हो ।

मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गरी आज २७ गते शुक्रबार अपराह्न ४:३० बजेदेखि लागू हुने गरी बागमतीका विभिन्न ५ ओटा यातायात व्यवस्था कार्यालयमा यो सङ्ख्या थप गरिएको जानकारी दिएको हो ।

उक्त सङ्ख्या वृद्धि लागू गरिएका यातायात व्यवस्था कार्यालयमा ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ, चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालय रहेका छन् । मन्त्रालयका अनुसार आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको हो ।

लाइसेन्स लिन वा वर्ग थप गर्न चाहने सेवाग्राहीले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् मन्त्रालयले जानएको छ । यसरी आवेदन दिँदै सम्बन्धित दिनको कोटा सकिएमा अर्को दिनको लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।