कोमाकीले ल्यायो ‘फायरप्रुफ’ ब्याट्रीयुक्त नयाँ इलेक्ट्रिक स्कुटर – डीटी ३०००

-



     सफल आवाज    
     श्रावण ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ साउन । युनिटी ट्रेडिङ कन्सर्नले नेपालमा ‘फायरप्रूफ’ ब्याट्रीयुक्त कोमाकीको नयाँ स्कुटर डीटी ३००० उपलब्ध गराएको छ । युनिटी ट्रेडिङ कन्सर्न कोमाकी विद्युतीय स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हो ।

कम्पनीका बिक्री प्रमुख उमेश अधिकारीका अनुसार यो स्कुटरलगायत भविष्यमा आउने अन्य सवारीमा ‘फायरप्रूफ’ ब्याट्रीयुक्त नै हुने कम्पनीको योजना रहेको छ । ‘विभिन्न ब्राण्डका इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलहरुमा आगलागीको समस्या देखिएको परिप्रेक्ष्यमा कोमाकीले आफ्ना उत्पादनलाई ‘फायरप्रूफ’ बनाउन लागेको हो’, उनले भने ।

हाई स्पिड सेग्मेन्टमा राखिएको यो इलेक्ट्रिक स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ मूल्य तोकिएको छ । यसमा ६२ भोल्ट ५२ एम्पियर आवरको लिथियम आयन ब्याट्री प्याक जडान गरिएले ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिने कम्पनीको दावी छ ।

यसबाहेक कम्पनीले यो स्कुटरले एक पटकको चार्जमा १४० देखि १६० किलोमिटरसम्मको माइलेज दिने पनि बताएको छ । यसको सबैभन्दा बढी गति अर्थात् टप स्पीड प्रतिघन्टा ८० किलोमिटर रहेको बताउँदै रेटेड पावर ३ हजार र पिक पावर ५ हजार २ सय वाट रहेको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार यो नयाँ स्कुटरमा फायर फ्रूफ, वाटर प्रूफ, स्मार्ट बिएमएस एक्टिभ ब्यालेन्सिङ, टिएफटी टच स्क्रिन र दुवै चक्कामा डिस्क ब्रेकलगालयतका विशेषताहरू रहेको छ । यसबाहेक स्टेनलेस स्टिल फ्रेम च्यासिस, दुवै साइडमा फुट रेष्ट, ब्याक गार्ड र फराकिलो वुट स्पेस जस्ता सुविधा समेत उपलब्ध गराइएको छ ।