यस्तो छ एनएमबि म्युचुअल फण्ड अन्तर्गतका योजनाको वित्तीय अवस्था

-



     सफल आवाज    
     भाद्र १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ भदौ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८-७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेका छन् ।

विवरण अनुसार एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १३.१३ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यो फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य १६.८९ रुपैयाँ रहेको थियो । योजनाले आर्थिक वर्ष २०७८/७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गर्दै गत साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।

यसैगरी एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खुद सम्पत्ति मूल्य १३.२८ रुपैयाँ रहेको छ । यो आँकडा अघिल्लो वर्ष १८.९६ रुपैयाँ थियो । यो योजनाले पनि गत आर्थिक वर्षका लागि २१.०५२६३% नगद लाभांश घोषणा गरेर साउन ३१ गते नै बुक क्लोज गरिसकेको कम्पनीले जनाएको छ ।

यस्तै ९ महिना अघिदेखि सञ्चालनमा रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना “एनएमबि सरल बचत फण्ड–इ को समीक्षा अवधिसम्म खुद सम्पत्ति मूल्य ९.११ रुपैयाँ रहेको तथ्याङ्क छ ।

कम्पनी अन्तर्गतको पाँचौं म्युचुअल फण्ड योजना एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ भने गत २६ गते देखि निष्कासन गरिएको छ र यसका लागि आवेदन दिने म्याद थप गरिएको छ । थप गरिएको म्याद अनुसार आगामी भाद्र ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।