सहकारी संस्थाहरूले अबदेखि घरजग्गामा लगानी गर्न नपाउने

-



     सफल आवाज    
     भाद्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ भदौ । सहकारी संस्थाहरूले अबदेखि घरजग्गामा लगानी गर्न नपाउने भएका छन् । पछिल्लो समय सहकारी संस्थाहरूमा समस्या देखिएपछि सहकारी विभागले स्थिर सम्पत्ति (घरजग्गा)मा सकेसम्म लगानी नगर्न निर्देशन दिएको छ ।

कर्जा लगानी गर्दा तत्काल प्रतिफल दिने ससाना व्यवसाय र स्थिर सम्पत्तिमा सकेसम्म लगानी नगर्न विभागले निर्देशन दिएको हो । यस्तै विभागले ऋण असुलीलाई प्राथमिकताका साथ कार्ययोजना नै बनाएर अघि बढ्न सुझाएको छ ।

विभागको निर्देशनमा सहकारीका सञ्चालकको सुविधा कटौती गर्न, नाफामा नआएसम्म लाभांश वितरण नगर्न भनिएको छ ।सहकारी संस्थाहरूलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन पनि विभागले निर्देशन दिएको छ ।

विभागले बचतकर्ता सदस्यहरूसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रीम तालिका बनाएर नियमित भुक्तानी गर्न भनेको छ ।

अहिले १२ सहकारी समस्याग्रस्त घोषित छन् । ती सहकारीहरूले घरजग्गामा कारोबार गर्ने गरेको, आफ्नो स्वार्थको क्षेत्रमा लगानी गर्ने गरेको लगायतका कारण समस्यामा परेको देखिएको छ । मुलुकभर अहिले ३० हजारभन्दा बढी सहकारी छन् ।