लाइफ इज ए लङ्ग होलिडेज-अनुप वराल

-



     सफल आवाज    
     भाद्र ४ गते २०७९ मा प्रकाशित



मिस्टर नगरकोटीको कोट गर्न मिल्ने एउटा लाईन छ ‘लाइफ इज ए लङ्ग होलिडेज’ । खै किन हो कुन्नि यो लाइन सम्झ्योकी एरिक रोहमरको सिनेमाका यायावरिक पात्रहरु सम्झनामा आउछन्। मिडलक्लास, बौद्दिक, युवामन, उन्मुक्त र लगभग नोम्याडिक पात्रहरु ।

मन त हुन्छ फेरी त्यही जिन्दगी बाँचु जो बर्षाै अघि समयसंगै कतै छोडिएका छन्। यस्तो लाग्छ धित मरुन्जेल कतै लंग ड्राइभमा जाउँ। चल्दै गरेको रेलको झ्यालबाट त्यो चन्द्रमालाई हेरी रहुँ जुन बिहान नहुन्जेलसम्म आँखाबाट ओझेल हुँदैन। कुनै स्वार्थबिना यात्रमा अचानक भेटिने अपरिचित मानिससंग इन्फिनिट कुरा गरिरहन पाए हुन्थ्यो जस्तो लाग्छ ।

अक्टोबरको कुनै एक दिन दिल्लीको प्रगति मैदानमा भइरहेको फिल्म फेस्टिवलमा रोहमरको द ग्रीन रेज भन्ने फिल्म हेरेको थिए। ति त्यस्ता दिन थिए जहाँ हामी अक्सर विश्व प्रसिद्द निर्देशकका फिल्महरु हेरेर अघाउदैनथ्यो। त्रुफो, कुरोसवा, वर्गम्यान, फेलिनी, एन्तिनियोनि, पोलान्सकी, पासोलिनी, तारकोवोसकी, ओजु, रित्विक घटक, केस्लोवोसकी कयौं नामहरु अटाउँछन् यी दिनहरु भित्र।

आज सोच्छु, रोहमर सिमेट्री भित्र छिरेको एक दशक बितिसकेछ। तर उनको सिनेमासंग, उनले रचेको अजिबों गरिब सिचुएसन संग र उनका पात्रहरुले बोल्ने संवादसंग अझै पनि औधी माया बसेको छ। एउटा स्ट्याटिक सोचको संरचना भित्र उभिएर कला लाई व्याख्या गर्ने आम मान्छे भित्र रोहमर कतै छैनन् ।

सायद यहि भएर हो कि रोहमरका फिल्ममा देखिने निलो आकाश, उजेलो सूर्य, हरियाे घाँस, बलौटे सामुन्द्रिक किनार र क्रिस्टल पानीमा म एउटा छुट्टै अर्थ देख्छु। प्रिय रोहमर, खै किन हो कुन्नि स्त्री पुरुष सम्बन्धका बारेमा लाम लामा तर रुचिपूर्ण गन्थन गरेर नथाक्ने तिम्रा पात्रहरु लाई सुन्न मन छ आजभोली । नजानिदो पाराले बोलिदिने जीवन दर्शनलाई फेरी एकपटक महसुस गर्ने मन छ। लगभग बाँच्न छडिएका रुमानी दिनहरुमा फर्कने चाहना छ।

तिम्रा पात्रहरुले झैँ कतै हिड्न मन छ त्यो यात्रा जुन यात्राले बितेका कयौं वर्षभरिको थकान र मोनोटोनी लाई बढारेर लैजाओस् । हिड्नु मात्र यात्रा होइन जिन्दंगी, काम गर्दै गर्दा यात्रा गरिरहेको अनुभव हुनु पनि त एक किसिमको यात्रा नै हो। हिजो अस्ति गरेको कामको मेलो अझै अगाडी बढेको जस्तै हो। जसरी हाम्रो पुरानो समयले आज हामीलाई वर्तमानमा ल्याई पुराएको छ।

हिजो रातभर पानी परिरह्यो। पोखरा यसै पनि चेरापुन्जी हो । पानी बर्सदा वानकार वाईको इन द मुड फर लभका दुइ पात्रहरु मेरो बेडको छेउमा बिनाअनुमति आइदिन्छन् । ल्याम्पोस्ट मुनि झरी रहेको रुमानी वर्षा, पात्रहरुको एक्लो पन र पृष्ठभूमिमा बज्ने साउण्ड ट्रयाकको लयात्मक धुन मेरो सास भित्र छिर्छन्। स्मृतिभित्र घोलेर मलाई अर्कै जोनमा पुराउछन् । रोहमरले नन डिजेटिक साउण्ड कहिल्यै फिल्ममा राख्न मन पराएनन । वंगकर वाई भने आफ्नो स्पेसको अर्किटेक्चर, पात्रको मनोदशा, र उनीहरुको एक्लो पन भन्न कता कता बाट सिम्फोनी र कम्पोजिसन बोकी ल्याउछन् ।

हेर्नुस् त यी दुवैका आफ्ना कलाको अभिव्यक्ति गर्ने तरिका कति फरक छन् तर पनि यी दुबैका फिल्मले मलाइ उत्तिकै स्पर्श गर्छन् । जीवन एउटा बिशाल क्याराभान हो। तर हामी एक समय पछि हिड्न छोडी दिंदा रहेछौं। त्यसैले छुट्दा रहेछन् हाम्रो सबैभन्दा प्रिय रंग, प्रिय गीत, प्रिय किताब र प्रिय अनुहारहरु। रोहमरलाई अलिक अस्ति दोहोराएर नहेरेको भए के थाहा अहिले लेख्दै गरेका अक्षर पनि छुटी जान्थे कि । यसैले यतिखेर एउटा आश बनिरहेको छ । हिजो राति मेरो झ्याल ढकढकउन आउने पानीका थोपाले तिम्रो घरको झ्याल पनि थप थपाए होलान् ।

मान्छेले मात्र होइन, मान्छे भित्रको अनुभुतीले पनि यात्रा गर्दो रहेछ । एक छिन मेडिटेटिभ भएर महसुस् गर्नुहोस् त भर्खर बितिगएका पलकाे कम्पन् अझै बाँकी छ की ।