लाइसेन्स परीक्षामा शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ

-



     सफल आवाज    
     भाद्र ७ गते २०७९ मा प्रकाशित



सुर्खेत, ७ भदौ । सुर्खेतमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।

गत साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमतिपत्र परीक्षाको (लिखित-मौखिक) प्रवेशपत्रमा यातायात व्यवस्था कार्यालयका कर्मचारीको किर्ते सही र छाप गरेर पास (उत्तीर्ण) लेखिएको शङ्कास्पद प्रवेशपत्र भेटिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यातायात कर्मचारीले शङ्कास्पद प्रवेशपत्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले वीरेन्द्रनगर–७ स्थित यातायात्र व्यवस्था कार्यालयमै पुगेर शाहीलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले कर्मचारीको सही, कार्यालयको छाप सक्कली हो वा होइन भनेर अनुसन्धान गरिने बताए । ‘प्रवेशपत्रमा पास लेखिएको छ, विस्तृत अनुसन्धान हुँदैछ’, उनले भने, ‘सम्बन्धित कार्यालयकै कर्मचारीले शङ्कास्पद ठानेर खबर गरेपछि नियन्त्रणमा लिएका हौँ ।’