
काठमाडाैं, १२ भदाै । किसानकाे जीवनयापनको मुख्य पाटो कृषि रहेको यथार्थतालाई आत्मसात गर्दै कृषि क्षेत्रमा लगानी गर्ने र उत्पादन बढाएर देशको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यका साथ २०७५ सालमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडकाे स्थापना भएको हो । मुक्तिनाथ विकास बैंकका तत्कालीन सीईओ भरतराज ढकालको अवधारणाबाट यो कम्पनी जन्मेको हो।
मुक्तिनाथ विकास बैककाे एसाेसियट कंपनीका रूपमा स्थापित मुक्तिनाथ कृषि कम्पनीले अहिले आवश्यक बीउबीजन, कृषि उपकरणको उत्पादन र बिक्री बितरण गरिरहेकाे छ । यसबाहेक कम्पनीले कृषकलाई ऋण प्रदान गर्ने बिचौलिया विस्थापन गरेर संस्थागत रूपमा ऋण प्रदान गरेर उधमी बनाउने काम समेत गरिरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले साना उद्यमी, विद्यार्थी, कृषक र कुनै विचारको आवश्यकता परेका वा स्रोतसाधनको पहुँचको अभावमा पछि परेका प्रत्येक व्यक्तिका लागि प्लेटफर्म प्रदान गर्ने कार्य गर्ने कम्पनीकाे भनाइ छ।
मुक्तिनाथ विकास बैंकमार्फत् गाउँगाउँमा वित्तीय पहुँच तथा साक्षरताका लागि जाने क्रममा किसानलाई रकम मात्र उपलब्ध गराएर नहुने बरु उत्पादनका सामग्री, बजारीकरण जस्ता कुरा अझ बढी महत्वपूर्ण हुने बुझेपछि यो कम्पनी खोल्ने निर्णय गरेको मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल बताउँछन्।

मानिसले दैनिक जीवनमा सबैभन्दा बढी रकम खानामा खर्च गर्ने हुनाले संसारको सबैभन्दा ठूलो व्यवसाय खानेकुरा वा कृषि नै भएको कम्पनीको बुझाइ छ । ‘यसका लागि छुट्टै कम्पनी खोल्नु जरुरी देखियो । ती कम्पनी सकेसम्म पब्लिक भएमा अझ जिम्मेवार, पारदर्शी र जवाफदेही हुन्छन् भन्ने ठम्याएर कम्पनी स्थापना भएको हो’, ढकालले भने ।
आफ्नै मोडल फार्म
खुलेको डेढ वर्षसम्म देशका विभिन्न भेगमा पुगेर अनुसन्धान गरेको कम्पनीमा हाल ७० जना कर्मचारी कार्यरत छन । सातै प्रदेशमा प्रादेशिक कार्यालय खोल्ने तयारी रहेको छ । हाल बागमती प्रदेशमा केन्द्रीय कार्यालय र गण्डकी प्रदेशमा कार्यालय रहेको छ । स्याङ्जामा ९ जना कर्मचारी छन् जसले उक्त क्षेत्रमा किसानका समस्या के छन्, के कस्तो उत्पादन भइरहेको छ, के कति सम्भावना छ भन्ने अध्ययन गर्छन् । स्याङ्जामा ३५ रोपनीको आफ्नै मोडल फार्म छ जहाँ सुन्तला लगायतका फलफूल तथा तरकारी खेतीबारे अनुसन्धान गरिन्छ ।

यसैगरी खाद्यान्न बालीका लागि तराइ क्षेत्र उपयुक्त हुने हुँदा चितवनमा पनि मोडल फार्म सञ्चालन भइरहेको छ । जहाँ मकै धान लगायत खाद्य बालीलाई बढी जोड दिइएको छ ।
मुक्तिनाथ कृषि कम्पनीबाट किसानलाई कृषि उत्पादनदेखि बिक्री वितरणसम्म क्रममा आवश्यक पर्ने लगभग सबै सामान तथा सेवा उपलब्ध गराइन्छ । आवश्यक बीउबीजन संकलन तथा प्याकेजिङ गरी बिक्री वितरण पनि कम्पनी आफैंले गर्छ । यसबाहेक रोग, किरा नियन्त्रणका लागि आवश्यक कीटनाशक तथा अन्य औषधीहरु कम्पनी आफैंले उत्पादन गर्दै आएको छ ।
खनजोत गर्ने हाते ट्र्याक्टरदेखि औषधी छर्ने पम्पलगायतका उपकरणहरु पनि कम्पनी आफैंले उपलब्ध गराउँदै आएको छ । यसरी कृषिको लागि वित्तीय मात्र नभई उत्पादन तथा बजारीकरणसम्मका लागि आवश्यक संयन्त्र उपलब्ध भएको यो कम्पनीमा किसान कृषिसम्बन्धी कुनै पनि समस्या लिएर आएको खण्डमा उसको ९० प्रतिशत समस्या हल हुनेछ ।

खाद्य साक्षरता अभियान
मुक्तिनाथ कृषि कम्पनीले खाद्य साक्षरता अभियान समेत शुरु गरेको छ । खाद्यसम्बन्धी सबै खाले कर्मचारी उपलब्ध रहेको कम्पनीले खाना सन्तुलित बनाउने, कुन उमेर समूहलाई कुन समयमा कति क्यालोरी आवश्यक हुन्छ र त्यो कसरी प्राप्त गर्ने भन्ने तालिका तयार गरिरहेको छ । यस्तै नेपालको हावापानी फरक फरक भएकाले कहाँ कहाँ के के उत्पादन हुन सक्छ भन्ने पर्याप्त अनुसन्धान नभएकाले त्यतातर्फ पनि कम्पनीले काम शुरु गर्ने योजना बनाएको अध्यक्ष ढकाल बताउछन ।
मूल्य श्रृङ्खलामा काम गर्ने मुक्तिनाथ कृषि कम्पनीले किसानका समस्या के के हुन् छुट्याएर उपभोक्ताकाे हितका लागि काम गर्ने गरेको छ । यसका लागि प्रत्येक प्रदेशमा स्रोत केन्द्र बनाएर सोही केन्द्रबाट आवश्यक मल, बीउ, उपकरण सबै खरिद गर्न सक्ने संयन्त्र तयार गरिरहेको छ । यस्ता स्रोतकेन्द्र स्थानीय सहकारीलाई चलाउन दिने र किसानका उत्पादन त्यही सहकारीमार्फत् कम्पनीले नै किनिदिने र त्यसपछिका प्रकृया पूरा गरी वास्तविक किसानलाई उपयुक्त मूल्य तथा उपभोक्तालाई खोजेको बेला स्वस्थ खानेकुरा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको छ ।

आयात प्रतिस्थापनमा योगदान पुर्याउने लक्ष्य
नेपालमा खाद्यबस्तु तथा तरकारीहरु अत्यधिक आयात हुने भएकाले व्यापार घाटा बढ्दै गएकाे अवस्थालाइ मनन गर्दै कृषि उत्पादन बढाएर आयात प्रतिस्थापनमा योगदान पुर्याउने कम्पनीको लक्ष्य रहेको छ । हाल उपेक्षित कृषि क्षेत्रको वास्तविक सम्भावना प्रस्ट पारेर अहिले अन्य क्षेत्रमा लगानी गररिरहेका बैंक तथा वित्तीय संस्था तथा कर्पोरेट कम्पनीहरुलाई भविष्यमा ठूलो पुँजीसहित लगानीका लागि अभिप्रेरित गर्ने दिशामा कम्पनी निरन्तर अगाडि बढिरहेको बताइएकाे छ।
नयाँ प्रविधि अनुसरण गर्न सक्ने युवाहरु कृषिमा नआउन्जेल यो क्षेत्र नफस्टाउने कम्पनीको बुझाइ छ । अध्यक्ष ढकालका अनुसार यसका लागि राज्यले युवालाई कृषिका लागि आवश्यक प्रशिक्षण दिने, उनीहरुले कुन पेशा गरे कति लगानी लाग्छ के के चाहिन्छ भन्ने बिजनेस प्लान बनाउनु आवश्यक हुन्छ ।
त्यसपछिको चरणमा आवश्यक पुँजी, उन्नत गुणस्तररका कृषि सामग्री र बीउ बीजन, मल उपलब्ध गराउनुपर्छ । यसपछि उनीहरुलाई उत्पादनका क्रममा रोग तथा किरा नियन्त्रणका उपायहरु सिकाउने, उत्पादन भएका वस्तुहरुको बजारीकरण वा बाइ ब्याक ग्यारेन्टी गरिदिनु आवश्यक हुन्छ । जसअनुरूप मुक्तिनाथ कृषि कम्पनीले किसानसँग मुक्तिनाथ तथा उपभोक्तासँग मुक्तिनाथको अवधारणा अनुरुप काम गरिरहेको छ ।

अध्यक्ष भरतराज ढकाल भन्छन् ‘कृषिको मुख्य समस्या माग र आपूर्तिको असन्तुलन भएकाले बजारमा आवश्यक सामानको उत्पादन हुन सकेको छैन। यो प्रणालीको विकास गर्न नसकेसम्म किसानले सही मूल्य पाउँदैनन । उपभोक्ताले खोजेको सामान पाउँदैन। हामीजस्ता कम्पनीले यस किसिमको बजारको अनुसन्धान गर्नुपर्छ। हाम्राे कृषि कंपनी जस्ता संस्थाहरू नेपालमा अरुपनि खुल्न जरुरी छ।’ (मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरत राज ढकालसँगकाे कुराकानीमा आधारित)








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




