प्रदेश १ मा चार वर्षमा २ सय १८ किमी सडक कालोपत्र

-



     सफल आवाज    
     भाद्र १५ गते २०७९ मा प्रकाशित


सांकेतिक तस्बिर


मोरङ, १५ भदौ । प्रदेश सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमार्फत् चार वर्षमा २ सय १७.७२ किलोमिटर कालोपत्र सडकको निर्माण भएको छ । उक्त मन्त्रालयका सूचना अधिकारी इञ्जिनीयर ललित चौधरीका अनुसार प्रदेश नं १ का १४ जिल्लामा विगत चार वर्षमा उक्त सडक निर्माण भएको हो ।

प्रदेश सरकार स्थापनाको चार वर्षमा आर्थिक वर्ष २०७५-७६ मा २६.१८ किमी, २०७६-७७ मा ५२.२१ किमी, २०७७-७८ मा ४०.६१ किलोमिटर र आव २०७८-७९ मा ९८.७२ किलोमिटर कालोपत्र निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

सडक मर्मत र ग्राभेल

यसैगरी त्यति नै समयमा ८ सय १९.८२ किमी सडक मर्मत गरिएको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा ६ सय एक किलोमिटर, २०७६-७७ मा ६१.५४ किमी, २०७७-७८ मा ५१.१३ किमी र आव २०७८-७९ मा १ सय ६.१६ किमी सडक मर्मत गरिएको हो ।

सोही अवधिमा ८ सय ९५.७५ किलोमिटर सडक ग्राभेल गरिएको छ । जसमध्ये आर्थिक वर्ष २०७५-७६ मा १ सय २८.९ किलोमिटर, २०७६-७७ मा २ सय ११.३५ किलोमिटर, २०७७-७८ मा १ सय ७५.३१ किलोमिटर र आव २०७८-७९ मा  ३ सय ८०.१९ किलोमिटर सडक ग्राभेल गरिएको  छ ।

कच्ची सडक र ट्र्याक

यसैगरी  सोही अवधिमा ८ सय ५९.३७ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा १ सय ८१.३ किलोमिटर,  २०७६-७७ मा  चार सय ७७.८२ किलोमिटर,  २०७७-७८ मा १ सय ९.१९ किलोमिटर र २०७८- ७९ मा  ९१.७ किमी कच्ची सडक निर्माण गरिएको छ ।    

मन्त्रालयले उक्त अवधिमा  पहाडी क्षेत्रमा २ सय ५४.३६ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा ७.५ किमी, २०७६-७७ मा १ सय ४२.५९ किलोमिटर, २०७७-७८ मा ५५.१९ किलोमिटर र आव २०७८-७९ मा ४९.८ किलोमिटर  सडकको ट्र्याक खोलिएको चौधरीले जानकारी दिए । सोही अवधिमा ८. ४६ किलोमिटर सडक ढलान गर्ने कार्य सम्पन्न गर्नुका साथै १६.८८ किमी सडक सोलिङ गरिएको छ ।

मोटरेबल र झोलुङ्गे पुल    

मन्त्रालयले सोही अवधिमा प्रदेशमा ५५ वटा मोटरेबल पुलको निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५-७६ मा १०, २०७६-७७ मा १२, २०७७-७८ मा ८ र आव २०७८-७९ मा २५ पुल निर्माण सम्पन्न भएका छन् ।

यस्तै प्रदेशभरिमा १ सय ५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् जसअन्तर्गत आर्थिक वर्ष २०७५-७६ मा ७, २०७६-७७ मा २९,  २०७७-७८ मा ४४ र आव २०७८-७९ मा २५ वटा झोलङ्गे पुल निर्माण  भएका हुन् ।