अब चालकसहित विद्युतीय गाडी भाडामा पाइने

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदौ । विद्युतीय सवारी बिक्रेता दिगो ग्रुप अन्तर्गतको ‘सृबिट’ कम्पनीले चालकसहित विद्युतीय गाडी भाडामा उपलब्ध गराउन थालेको छ ।

कम्पनीले चालकसहित र आफैँ चलाउनेको लागि छुट्टाछुट्टै प्याकेजसहित भाडामा गाडी उपलब्ध गराउँदै आएको छ । चालकसहित गाडी चाहिनेले भ्याटसहित ४ हजार रुपैयाँ तिरेर एक दिनको लागि कार भाडामा लिन सक्ने कम्पनीले जनाएको छ ।

४ हजार रुपैयाँमा ८ घण्टाको लागि मात्र गाडी उपलब्ध हुने र ८ घण्टाभन्दा माथि प्रयोग गर्नुपरेमा प्रतिघण्टा ३५० थपिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो मूल्य दिगोको इ-८ गाडीका लागि हो भने त्योभन्दा ठूलो गाडी चाहिएमा कियाको सोल ईभी र ईएमथ्री पनि उपलब्ध गराउने र सोल ईभीको भाडा करसहित ६ हजार रहेको छ ।

‘अहिले हामी विशेषतः सहरी क्षेत्रको लागि उपयुक्त गाडी भाडामा उपलब्ध गराउँदै आएका छौं । लामो यात्रा र धेरै मानिस बोक्न मिल्ने विद्युतीय गाडी पनि हामी भाडामा दिन्छौं’, सृबिट कम्पनीकी रसिका थापाले भनिन् ।

आफ्नै नामको ब्राण्डमा विभिन्न किसिमका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको दिगो ग्रुपले यात्रु र व्यावसायिक दुवै समूहका विद्युतीय सवारीसाधन उपलब्ध गराउँदै आएको छ । कम्पनीले केही समयको लागि विद्युतीय गाडी भाडामा लिएर चलाउन चाहनेलाई लक्षित गरेर यस्तो योजना ल्याएको बुझिएको छ ।