साउनमा ७६ करोडभन्दा बढीकाे ल्यापटप र नोटबुक भित्रियाे

-



     सफल आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित



काठमाडौं, १६ भदौ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालमा ७६ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएको छ।

भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको साउन महिनाको तथ्याङ्क अनुसार नेपालमा विभिन्न १८ देशबाट ७६ करोड ३६ लाख ६९ हजार रुपैयाँ बराबरका १२ हजार ६४५ थान ल्यापटप तथा नोटबुकहरु आयात भएकाे पाइएको छ।

सबैभन्दा धेरै चीनबाट १२ हजार ३५० थान आयात

साउन महिनामा चीनबाट सबैभन्दा धेरै अर्थात् १२ हजार ३५० थान ल्यापटप तथा नोटबुक डिभाइसहरु आयात भएको पाइएको छ । उक्त परिमाणको ल्यापटप तथा नोटबुकको मूल्य ७४ करोड ४९ लाख ७६ हजार रुपैयाँ रहेको तथ्याङ्क छ।

यसपछि मलेसिया र जापानबाट समान ६२-६२ थान डिभाइस आएको छ । जसको मूल्य क्रमश ३४ लाख ९४ हजार तथा ३० लालख ९६ हजार रहेको छ । यस्तै अमेरिकाबाट ३३ लाख ८३ हजार बराबरका ५३ थान, दक्षिण कोरियाबाट ९ लाख ११ हजार बराबरको १७ थान ल्यापटप तथा नोटबुक आयात भएको विवरणमा उल्लेख छ ।

 ताइवानबाट ८ लाख ४ हजार बराबरको १५ थान, सिंगापुरबाट ८ लाख ५६ हजार बराबरको १३ थान, पोल्याण्डबाट ९ लाख २६ हजार बराबरको १० थान ल्यापटप तथा नोटबुक आयात भएको पाइएको छ।

यसबाहेक अष्ट्रेलिया, भारत यूएई तथा नामिबियाबाट समान ४-४ थान ल्यापटप डिभाइस आएका छन् जसको मूल्य क्रमश: ३ लाख ८८ हजार, ६३ हजार, २ लाख ४२ हजार तथा ७ लाख ३२ हजार रहेको छ ।

यसैगरी बेलायत र नर्वेबाट २-२ थान तथा हङकङ कुवेत र लिथुआनियाबाट १-१ थान ल्यापटप तथा नोटबुक आयात भएको तथ्याङ्क छ । यसबाहेक ३३ लाख ७१ हजार बराबरका ४० थान यस्ता डिभाइस पनि आयात भएको देखिए पनि कुन देशबाट भित्रिएको भन्ने खुलेको छैन ।