चार्जिङ स्टेसनको जानकारी दिने ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० भदौ । नेपाल विद्युत् प्राधिकरणको ‘एनईए चार्ज’ मोबाइल एप सार्वजनिक भएको छ । यो एपमार्फत् विद्युतीय सवारीधनीहरुले चार्ज गर्नका लागि चार्जिङ स्टेसन कहाँ उपलब्ध छ भनेर जानकारी पाउन सक्छन् ।

प्राधिकरणले केही दिनअघि रत्नपार्कस्थित आफ्नै कार्यालय हातामा नयाँ चार्जिङ्ग स्टेशन सञ्चालनमा ल्याएको थियो । विद्युतीय सवारी धनीहरुलाई सहज होस् भन्ने हिसाबले स्थानमा ठाउँमा रहेका चार्जिङ स्टेसनहरुको जानकारीका लागि यो एप सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङका अनुसार यस्ता चार्जिङ स्टेशनमा मानिस नहुने र सवारी धनीले आवश्यक पर्दा नजिकैको चार्जिङ स्टेशनमा गएर चार्ज गराउन सकुन् भन्ने उद्देश्यले यो एप ल्याइएको हो ।

प्राधिकरणका अनुसार यो मोबाइल एपमा भुक्तानी सुविधादेखि लिएर कुन समयमा कुन ठाउँमा चार्जिङ स्टेसन खाली छ भन्ने लगायतका जानकारीहरू हेर्न सकिन्छ । एपमार्फत प्रयोगकर्ताले आफ्नो नजिकको चार्जिङ स्टेसन कहाँ छ भनेर म्यापसहित हेर्न र सोही म्यापको आधारमा चार्जिङ स्टेसनमा पुग्न पनि सक्ने बताइएको छ ।

एपबाटै क्यूआर कोड स्क्यानमार्फत भुक्तानी गरी चार्ज गर्न तथा एपमै आफ्नो बिल भुक्तानीको हिस्ट्री पनि हेर्न सकिने प्राधिकरणले जानकारी दिएको छ । यसबाहेक सवारी कति प्रतिशत चार्ज भयो भनेर पनि एपमै हेर्न सकिने सुविधा उपलब्ध छ ।