दसैंमा सार्वजनिक यातायातले रुट पर्मिट नलिई चलाउन पाउने

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ भदौ । दसैंमा सार्वजनिक सवारीसाधन चलाउँदा देशभर कुनै पनि ठाउँमा रुट पर्मिट नचाहिने भएको छ । यात्रुको चाप हुने ठाउँमा सवारीसाधनको व्यवस्थापन सहज गराउने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।

गत बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बैठक भएको र उक्त बैठकबाट यस्तो निर्णय भएको हो ।

यो निर्णय अनुसार घटस्थापनाको दिनदेखि पूर्णिमाका दिनसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट आवश्यक हुने छैन । तर बैठकले कुनै बाटोको विशेष प्रकृतिका कारण उक्त बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहने पनि प्रस्ट्याएको छ ।

यसैगरी बैठकको निर्णय अनुसार असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाइनेछ । यातायात व्यवसायीले कोभिड १९ को जोखिम यथावत रहेकाले दसैंका यात्रुलाई मास्कको प्रयोग गराउनुपर्ने प्रावधान राखिएको छ ।