नागरिकता विधेयक प्रमाणीकरण नभए यो मुद्दा अदालतमा जान्छ: प्रचण्ड

-



     सफल आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित



पोखरा, २४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताएका छन् । उनले केही दिनअघि राष्ट्रपतिसँग भेट्दा नागरिकता विधेयकलाई ठूलै राजनीतिक विषय बनाउने मुडमा देखेको र यस हिसाबले राष्ट्रपतिले प्रमाणीकरण नगर्ने सम्भावना रहेको बताउँदै यस्तो अभिव्यक्ति दिएका हुन् ।

आफूले राष्ट्रपतिलाई दोस्रोपटक पनि उक्त विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने स्थिति आउने वा उक्त मुद्दा अदालतसम्म पुग्नेबारे सचेत गराएको पनि उनले थपे ।

प्रेस सेन्टर कास्कीको आयोजनामा भएको पत्रकार सम्मेलनमा दाहालले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्दै भने, ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुहुन्छ नै भन्ने लाग्छ ।’

यो विधेयक वैवाहिक अंगीकृतलाई थाँती राखेर जन्मसिद्धका नागरिकले वंशजको नागरिकता पाऊन‍् भनेर उद्देश्यले ल्याइएकोले प्रमाणीकरण हुने दाहालको विश्वास थियो । उनले वैवाहिक अंगीकृतलाई भारतमा जस्तै नेपालमा पनि समान प्रावधान राखिनुपर्ने पक्षमा आफूहरु उभिएको पनि बताए ।