‘नाडा इभि एक्स्पो’ असोज ६ देखि ९ गतेसम्म हुदैं , ४० हजारले अवलोकन गर्ने अपेक्षा

-



     सफल आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित



काठमाडाैं, २७ भदाै । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले यही असोज ६ देखि ९ गते सम्म नेपालमा पहिलोपटक नाडा इभि एक्स्पो २०२२ गर्ने भएकाे छ । विद्युतीय सवारीसाधन, पार्टपुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको प्रदर्शनी रहने उक्त इभि एक्स्पोलाइ “सिएट” टायरले प्रायोजन गरेकाे छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागि भएको छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गर्ने भएको छ ।

बर्तमान समयमा विद्युतिय सवारी साधनहरुको महत्व दिन प्रतिदिन बढदै गएको र यस्ता सवारी साधनहरुको बढदो प्रयोगले आफनै मुलुकमा उत्पादित जल विद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउन समेत सहयोग पुग्ने विश्वास आयोजकको रहेको छ । वातावरण मैत्री विद्युतिय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दे आयोजना गर्न लागिएको एक्स्पाेमा ठूला तथा साना गरि ५१ वटा स्टल रहने नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताएका छन ।

एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याट्री, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहने बताइएकाे छ ।

नेपालीकाे महान चाड–पर्वहरुको पूर्वार्धमा आयोजना हुन गइरहेको यस एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्घि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरुको समस्टिगत प्रवर्धनमा प्रत्यक्ष तथा सकारात्मक प्रभाव पार्ने नाडा अध्यक्ष ध्रुव थापाले बताए ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, विक्रिपछिका सेवा एवं इन्सुरेन्सका छुटाछुटै स्टलहरु रहने छन । एक्स्पो सम्वन्धी समाचार सम्प्रेषणमा सहजताकालागि साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । एक्स्पोमा वारुण सुरक्षा एवं नियन्त्रणकालागि फायर सेफ्टी सपाेर्टको रुपमा हिटको प्रा. लि. रहेको छ ।

आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने नाडा अध्यक्ष थापाले बताएका छन ।

एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।

आजदेखि असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दर हुनुका साथै प्रत्येक टिकट खरिदमा खल्ती डिजिटल पेमेन्टद्वारा २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको बताइएकाे छ । ४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४०,००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको नाडा इभि एक्स्पो समितिका सभापति अनुप कुमार बरालले बताए ।