बरुण हाइड्रोको हकप्रदमा आवेदन दिने म्याद २ दिन बाँकी

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० भदौ । बरुण हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद आज र भोलि गरी दुई दिन बाँकी रहेको छ । कम्पनीले गत भदौ ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद भदौ २६ बाट बढाएर ३१ गतेसम्म पुर्याएको थियो ।

कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा निष्कासन गरेको यो हकप्रदका लागि आज बिहान १० बजेर ११ मिनेट जाँदासम्म २४ हजार ३१ आवेदकले १८ लाख ७ हजार ९४२ कित्ताका लागि आवेदन दिएको सिडिएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद जारी गरेको हो । यसरी हेर्दा आज बिहानसम्म उक्त हकप्रदमा मागको ६७.४८ प्रतिशतमात्र आवेदन परेको छ ।

हकप्रद निष्कासनका लागि कम्पनीले साउन २ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

हकप्रदमा आरबिबि मर्चेन्ट बैंकिङ्ग र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बीप्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ । हाल २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासनपछि ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ पुग्नेछ ।