माथिल्लो अरुण हाइड्रोमा ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदै

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौँ, ३० भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानी जुटाउन ऋण लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । अर्धजलाशयुक्त प्रकृतिको सो परियोजनामा विश्व बैङ्कसमेतको लगानी रहने र आन्तरिकरुपमा ५३ अर्ब बराबरको स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता छ ।

यसै अनुरुप सरकारी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रेसिटी डेभलपमेन्ट कम्पनी लिमिटेडको नेतृत्वमा अन्य सरकारी स्वामित्वका बैङ्क तथा वित्तीय संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर हुने भएको हो ।

पहिलो चरणमा एचआइडिएसिएलको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी प्रारम्भिक सम्झौता हुनलागेको हो । त्यसमा नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र नागरिक लगानी कोष रहनेछन् । ती संस्थाबीच आयोजनामा लगानी गर्ने सम्बन्धी समझदारी हुनलागेको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए ।

‘आन्तरिकरुपमा जुटाउनुपर्ने लगानीमध्येको पहिलो चरणअन्तर्गत हामीले आज प्रारम्भिक समझदारीमा हस्ताक्षर गर्न लागेका हौं’, उनले भने, “बिस्तारै अन्य बैङ्क तथा वित्तीय संस्थासँग पनि यस्तै प्रकारको सम्झौता गर्छौँ ।’

अन्य संस्थासँग पनि छलफल जारी रहेको जानकारी दिँदै उनले आज साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको बताए ।

सरकारले अर्धजलाशययुक्त प्रकृतिको सो आयोजनालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाएको छ । सो आयोजनालाई सरकारले ‘गेम चेन्जर’ परियोजनाका रुपमा परिभाषित गरेको छ । यसको अर्थ सो आयोजना नेपालमा निर्माणमा जाने तयारीमा रहेकामध्ये हालसम्मकै ठूलो हो ।

‘जनताको जलविद्युत् कार्यक्रम’मा समावेश भएको सो आयोजनाको कुल जडित क्षमता १ हजार ६१ मेगावाट बराबर छ । पछिल्लो विकसित प्रविधिको प्रयोग गर्ने हो भने आयोजनाको क्षमता एक हजार २ सय मेगावाटभन्दा माथि हुने देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गर्न लागेको सो आयोजना हालसम्मकै ठूलो पनि हो । आयोजनामा ४९ प्रतिशत सर्वसाधारणको शेयर तथा विश्व बैङ्क, युरोपेली लगानी बैकको सुहलियतपूर्ण ऋण लगानी रहनेछ । आयोजनामा सङ्घीय, प्रदेश र स्थानीय सरकारको पनि लगानी रहने छ ।

विद्युत् बढी माग हुने हिउँदका ६ महिनामा दैनिक ६ घण्टा पूर्णक्षमतामा चलाउन सकिने आयोजनाको अनुमानित लागत करिब २ खर्ब २४ अर्ब बराबर छ । कुल लागतमध्ये ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणबाट जोहो गर्ने योजना छ । आयोजनाबाट वार्षिक चार अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।

प्राधिकरणले माथिल्लो अरुणकै अङ्गका रुपमा रहने गरी ३० मेगावाट क्षमताको  इखुवा जलविद्युत् आयोजना अगाडि बढाएको छ । इखुवा पनि जनता जलविद्युत् कार्यक्रममा समावेश भएको आयोजना हो । सो आयोजनाका लागि आवश्यक पर्ने निजी जग्गा यसै वर्षबाट अधिग्रहण र करिब २४ किलोमिटर पहुँच सडक निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ ।