
जनकपुरधाम, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिकाले आफ्ना अधिकांश सडक फराकिलो र कालोपत्र बनाएको छ । यसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप नै परिवर्तन भएको छ ।
मधेस प्रदेशको राजधानी घोषणा हुनुअघिसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो ।
‘केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो’, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले भने, ‘तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्र भएका छन्, जसका कारण बल्ल आफूहरू प्रदेश राजधानीवासी भएको आभास भइरहेको छ ।’
सडक स्तरोन्नतिसँगै कालोपत्र भएकाले आवतजावतमा सहज मात्र नभई नगर क्षेत्रको सौन्दर्यसमेत बढको उनको भनाइ थियो । सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेका जनकपुरधाम उपमहानगरपालिकावासी अब भने यो समस्याबाट मुक्त हुँदै गएको स्थानीय विजय यादवले बताए । ‘वर्षा लागेपछि नगर क्षेत्रका बाटामा हिँड्न पनि समस्या हुन्थ्यो, तर अहिले सडक चिल्ला भएकाले सहजै हिँड्न सक्ने अवस्था भएको छ’, उनले भने ।
सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्नेमा अहिले १० मिनेट पनि नलाग्ने थप्दै उनले पहिले सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन नचाहनेमा अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको जानकारी दिए । यसबाट जनकपुरधामको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रवर्द्धनमासमेत ठूलो फाइदा पुगेको उनको विचार थियो ।
केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकीचोक, रामचोक, पेठिया बजार, कदमचोक, मुरलीचोक, तिरहुतिया गाछी, निधिमार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्र भएका छन् ।
यसैबीच जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष २०७८-७९ मा नगर क्षेत्रका करिब नौ किलोमिटर सडक कालोपत्र र अढाइ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा सडक मर्मत गरेको छ । उपमहानगर योजना शाखाका अनुसार आर्थिक वर्ष २०७८-७९ मा ८.८१ प्रतिशत सडकमा कालोपत्र गरिएको छ ।
यस्तै ढल निकासका लागि सो आवमा तीन दशमलव ९२ प्रतिशत पक्की नाला निर्माण गरिएको र दुई दशमलव १९ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा मर्मत गरिएको योजना शाखाका इञ्जिनियर राकेशकुमार यादवले जानकारी दिए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




