४० हजारले अवलोकन गर्ने अपेक्षासहित ‘नाडा इभि एक्स्पो २०२२’ शुरु

-



     सफल आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असोज । ‘नाडा इभि एक्स्पो २०२२’ आजबाट भृकुटीमण्डपमा शुरु भएको छ । एक्स्पोको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन् । नाडाले प्रत्येक वर्ष गर्दै आइरहेको अटो एक्स्पोकाे यो संस्करणमा पहिलोपटक विद्युतीय सवारीमात्र समेटेर आयोजना गरिएको हो । सन् १९९८ देखि नै नेपालमा नाडा अटो शो आयोजना हुँदै आएको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाले स्वागत मन्तव्य राख्दै आर्थिक वर्ष २०७८/७९ मा अटोमोबाइल क्षेत्रले सरकारलाई ९० अर्बभन्दा बढी राजस्व तिरेको बताए । देशको कुल राजस्वमा २५ प्रतिशतको योगदान पुर्याउने अटोमोबाइल क्षेत्रले प्रत्यक्ष १ लाख र अप्रत्यक्ष १० लाख भन्दा बढी रोजगारी सिर्जना गरेको उनले दावी गरे ।

‘वातावरणमैत्री विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले प्रदूषण नियन्त्रणमा सघाउ पुर्याउने साथै आफ्नै मुलुकमा उत्पादित जलविद्युतको उपयोग बढ्न गई देशलाई आत्मनिर‍्भर बनाउन सहयोग पुर्याउने भएकाले नाडाले यो प्रदर्शनी आयोजना गरेको हो,’ अध्यक्ष थापाले भने ।

नाडाका अध्यक्ष ध्रुव थापा

उनले आयात प्रतिबन्धका कारण २५ प्रतिशत अटोमोबाइल व्यवसायी यस क्षेत्रबाटै पलायन भएको र हजारौं कर्मचारीको रोजगारी समेत गुमेको अर्थमन्त्रीलाई अवगत गराए । अध्यक्ष थापाले अर्थमन्त्रीसमक्ष कार, जीप, भ्यान लगायतका सवारी साधनमा लागेको आयात प्रतिबन्ध फुकुवाका लागि पहलकदमी गरिदिन अनुरोध गरे । यसबाहेक विद्युतीय सवारी साधनमा लगाइएको अन्त:शुल्क तथा कर बढाइएकाले २ सय किलोवाट क्षमतासम्मका विद्युतीय सवारीको भन्सारर तथा अन्त: शुल्क पुरानै दर अनुसार कायम गरिदिन अर्थमन्त्रीलाई थापाकोआग्रह थियो ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नाडाका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, नाडाका पूर्वअध्यक्षहरु, विभिन्न वस्तुगत संघका अध्यक्षहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री शर्माले विश्वका कतिपय मुलुकले समयसीमा तोकेरै इभि कार्यान्वयनमा ल्याएकाले नेपालमा पनि इभि कार्यान्वयनका लागि तयार रहन उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले नेपालमै इभि एसेम्बल गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

५१ वटा स्टल

नेपालमा वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गरिएको एक्स्पोमा ठूला तथा साना गरी विभिन्न ५१ ओटा स्टल र ब्लकहरु रहेका छन् । यसैगरी ९ ओटा ब्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्रे , ३ वटा ब्राण्डका टायर , २ ओटा बाण्डका ब्याट्री , ९ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ ओटा वित्तीय संस्थाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

हिरो इलेक्ट्रिक, बीवाईडी, प्योर इभि, सिएट टायर, टेलजी, हुण्डाई, टेस्ला, सीजी, टाटा, सुपर सोको, दीगो, जोय लगायतका ब्राण्डका विभिन्न मोडलका चारपाङ्ग्रे, तीनपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन् । चारपाङ्ग्रेमा विशेषगरी हुण्डाईको कोना र आयोनिक, सीजीको निटा, टेस्लाका मोडल वाई तथा मोडल ३, बीवाईडीको अल न्यू ई६, दीगोको इलेक्ट्रिक पिक अप, टाटाका नेक्सन, टियागो लगायतका बारेमा आगतन्तुकहरुको जिज्ञासा बढी देखिन्थ्यो ।

यसैगरी दुईपाङ्ग्रेमा हिरोको स्कुटर, प्योर इभिको स्कूटर तथा मोटरसाइकल, टेलजीका स्कूटर, आइमाका स्कुटर, जोय इ-बाइकका स्पोर्टी मोटरसाइकल तथा स्कुटर, सुपर सोकोका टीएस स्ट्रीट हण्टर, टीसी म्याक्स, केही अन्य ब्राण्डका विद्युतीय साइकल लगायतमा आगन्तुकहरुको चासो रहेको थियो ।

आगन्तुकलाई ट्राफिक प्रहरीकाे सचेतना

ट्राफिक प्रहरीको स्टलमा रहेकाहरु आगन्तुकहरुलाई सडक सुरक्षा सम्बन्धी स्टिकरलगायतका सचेतना सामग्री वितरण गर्नमा व्यस्त देखिन्थे । आज औपचारिक उद्घाटन मात्र भएकाले सञ्चारकर्मी र सम्बन्धित क्षेत्रका व्यवसायी तथा स्टल लगाएका विद्युतीय सवारी सम्बद्ध व्यक्तिहरु मात्र उपस्थित हुँदा पनि इभिबारेमा सोधपूछ गर्ने र जानकारी लिने क्रम निकै उत्सुकताका साथ चलिरहेको देखिन्थ्यो । यस हिसाबले भोलिदेखि सर्वसाधारणको उपस्थिति निकै उत्साहप्रद हुने र विद्युतीयस सवारीका बारेमा नेपालीहरु माझ राम्रो सन्देश प्रवाह हुने देखिन्छ ।

भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना भएको एक्स्पोमा नेपाल विद्युत प्राधिकरण सहयोगी संस्थाको रुपमा सहभागी भएको छ भने युसएआईडीको क्लिन एयरले नलेज पार्टनरको रुपमा इभी चौतारी नामक तीन दिने सूचनामूलक गोष्ठीको सञ्चालन गर्ने भएको छ ।

आयोजकका अनुसार एक्स्पोको शीर्ष प्रायोजक सिएट टायर रहेको छ । यस्तै सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती एप रहेको छ । एक्स्पो ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको व्यवस्थापनमा एक्स्पो आयोजना भएको हो । आजदेखि ४ दिनसम्म चल्ने नाडा ईभी एक्स्पोमा ४० हजार जनाले अवलोकन गर्ने आयोजकको आकलन छ । सर्वसाधारले भोलिबाट एक्स्पोमा भ्रमण गर्न सक्नेछन् ।