उपत्यकाबाट बाहिरिने गाडीको यान्त्रिक परीक्षण अनिवार्य

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित


Vehicles are seen stuck in a traffic jam at Ratnapark, Kathmandu, on Friday, August 12, 2016. Photo: BalKrishna Thapa Chhetri


काठमाडौं, ९ असोज । आजदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरुको परीक्षण अनिवार्य गरिएको छ । सरकारले दसैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले उपत्यकाबाहट बाहिरिने लामो तथा छोटो दूरीका गाडीङ्को यान्त्रिक परीक्षण अनिवार्य गरेको हो ।

रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयको भनाइ छ । यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुने मन्त्रालयले जनाएको छ ।

विशेषगरी चाडपर्वका बेला उपत्यका बाहिर जाने गाडीहरुमा अत्यधिक यात्रु हुने र गाडी राम्री मर्मत नगरी चलाउँदा दुर्घटना भएर थुप्रै मानिसहरुले ज्यान गुमाउँदै आएका छन् । यसैलाई मध्यनजर गर्दै मन्त्रालयले यस्तो नियम लागू गरेको हो ।

यान्त्रिक परीक्षण नगरिएका सवारीले दसैंमा रुरट परमिट नपाउने मन्त्रालयको भनाइ छ । यो नियम सबै प्रकारका सार्वजनिक सवारी साधन र भाडामा प्रयोग गरिएका निजी गाडीहरुमा पनि लागू हुनेछ । यसको अनुगमनका लागि मन्त्रालयले काठमाडौंबाट बाहिरिने मुख्य–मुख्य नाकामा गाडी जाँच गर्ने व्यवस्था मिलाएको छ ।

विगतका दसैंहरुमा गाडी दुर्घटनाबाट धेरैले ज्यान गुमाउने गरेका र त्यसका लागि सिधा जवाफदेहिता कसैले नलिने भएकाले यात्रु र परिवारजन पीडित हुँदै आएका थिए । यस पटकदेखि यात्रुको बीमा अनिवर्य गर्नुपर्ने, लामो दूरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने तथा गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने पनि नियम बनाइएको छ ।

यसरी नियम अनुसार गाडी चलाउने व्यवस्था गर्दा विगतमा जस्तो यात्रुको अत्यधिक चाप, चालक निदाउने, गाडीका अत्यावश्यक पार्टपुर्जामा समस्या आएर हुने दुर्घटना टार्न सकिने मन्त्रालयको बुझाई छ ।