नाडा इभि एक्स्पोको आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ असोज । गत बिहीबारदेखि आयोजित नाडा इभि एक्स्पो आज समापन हुँदैछ । नेपाल अटोमोबाइल डिलर्स एसोसियशनको आयोजनामा भृकुटी मण्डपमा चलिरहेको नेपालको पहिलो विद्युतीय सवारी प्रदर्शनीको आज अन्तिम दिन हो । सन् १९९८ देखि आयोजना हुँदै आएको नाडा अटो शोको यो संस्करण पूर्ण रुपमा विद्युतीय सवारीमात्र राखिएकोले यसको नाम नाडा इभि एक्स्पो राखिएको नाडा अध्यक्ष ध्रुव थापाको भनाइ छ ।

४० हजार जनाले अवलोकन गर्ने आकलनसहित नेपालमा वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गर्दै आयोजना गरिएको एक्स्पोमा ठूला तथा साना गरी विभिन्न ५१ ओटा स्टल र ब्लकहरु रहेका छन् । यसैगरी ९ ओटा ब्राण्डका चार पाङ्ग्रे , एउटा तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्रे , ३ वटा ब्राण्डका टायर , २ ओटा बाण्डका ब्याट्री , ९ ओटा पार्टपुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ ओटा वित्तीय संस्थाहरुको सहभागिता रहेको छ ।

टेस्ला

नाडाका महाप्रबन्धक राम राज प्रताप भण्डारीका अनुसार पहिलो दिन १ हजार ५ सय, दोस्रो दिन लगभग ३ हजार तथा तेस्रो दिन ५ देखि ६ हजारले अवलोकन गरेको एक्स्पोमा आज अन्तिम दिन ३० देखि ३५ हजारले भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

टेलजी

आयोजकका अनुसार केही दुई पाङ्ग्रे सवारी साधनका ब्राण्डले आफ्ना केही नयाँ मोडल पनि एक्स्पोमै सार्वजनिक गरेका थिए । योमा मा ई कम्पनीले टेलजी ब्राण्डको लायन मोडलको स्कुटर यसै एक्स्पोमा पुन: सार्वजनिक गरेको र ब्लू शार्क नामक नयाँ ब्राण्डका दुई मोडल पनि सार्वजनिक गरेको कम्पनीका तर्फबाट सञ्जिव शिल्पकारले जानकारी दिए । यसैगरी सुपर सोकोले पनि आफ्नो प्रतीक्षित टीएस स्ट्रीट हण्टर र टीसी म्याक्स यसै एक्स्पोमा सार्वजनिक गरेको थियो ।

सुपर सोको

हिरो इलेक्ट्रिक, बीवाईडी, प्योर इभि, टेलजी, हुण्डाई, टेस्ला, सीजी, टाटा, सुपर सोको, दीगो, जोय, याडेया, आइमा, निउ लगायतका ब्राण्डका विभिन्न मोडलका चारपाङ्ग्रे, तीनपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।

चारपाङ्ग्रेमा विशेषगरी हुण्डाईको कोना र आयोनिक, सीजीको निटा, टेस्लाका मोडल वाई तथा मोडल ३, बीवाईडीको अल न्यू ई६, दीगोको इलेक्ट्रिक पिक अप, टाटाका नेक्सन, टियागो लगायतका मोडलहरु राखिएका छन् ।

हिरो

पहिलो दिन उद्घाटन मात्र भएकाले सर्वसाधारणको उपस्थिति थिएन । दोस्रो दिन शुक्र्बारदेखि आजसम्म सर्वसाधारणले अवलोकन गर्न पाउने व्यवस्था छ । खल्तीमार्फत् टिकट काटेमा २५ प्रतिशतको क्यासब्याकको अफर राखिएको छ भने नबिल लगायत विभिन्न बैंकहरुले सजिलो फाइनान्सिङका लागि आफ्ना स्टल लगाएका छन् जसमार्फत् विद्युतीय गाडी, स्कुटर वा मोटरसाइकल लिन चाहनेले प्रदर्शीनस्थलमै फाइनान्सिङको सुविधा पाइरहेका छन् ।

नाडा इभि एक्स्पोमा यूएसएआईडीको सहयोगमा नाडा इभी चौतारी सेमिनार पनि शुक्रबारदेखि चलिरहेको छ । सेमिनारमा प्रत्येक दिन अलग अलग विषयमा विज्ञहरुद्वारा छलफल हुने तालिका अनुसार पहिलो दिनको विषय ‘इभि टेक्नोलोजी एण्ड इकोसिस्टम’ रहेको थियो ।

नाडा अध्यक्ष थापाका अनुसार दोस्रो दिन चौतारीमा विद्युतीय सवारीको प्रविधि के हो, यसका अन्य अवयव र सम्बन्धित क्षेत्र कुन कुन हुन् भन्नेबारेमा छलफल भएको थियो भने आज अन्तिम दिनको विषय ‘इभि पोलिसिज एण्ड गभर्नेन्स’ रहेको छ । यस अन्तर्गत विद्युतीय सवारीलाई प्रोत्साहन गर्न सरकारी नीति के कस्तो छ, नेपालमा एसेम्बल गर्ने कम्पनी तथा फ्याक्ट्री स्थापना गर्दा कर छूट अथा अन्य सहुलियत के कस्तो हुनुपर्छ भन्नेबारेमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिनेछ ।