३ महिनामा २ अर्बका चारपाङ्ग्रे विद्युतीय गाडी आयात

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती ३ महिनामा २ अर्ब ५० लाख बढीका ७०५ ओटा चारपाङ्ग्रे विद्युतीय सवारी साधन आयात भएको छ ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्मको समग्र आँकडा अनुसार नेपालमा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरका ७ सय ५ थान चारपाङ्ग्रे विद्युतीय सवारी भित्रिएका हुन् । यी सवारी साधनमा विद्युतीय कार, जीप र भ्यान रहेका छन् । यो सूचीमा विद्युतीय मोटरसाइकल तथा स्कुटर तथा तीन पाङ्ग्रे सवारीलाई समावेश गरिएको छैन ।

नेपाल भित्रिएका समग्र ७ सय ५ विद्युतीय सवारीमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट ५ सय २ थान आयात भएको छ । त्यसपछि अर्को छिमेकी राष्ट्र दक्षिण कोरिया १ सय २० थान विद्युतीय गाडी आएको प्रतिवेदनमा उल्लेख छ ।

चीनबाट आयात भएकामध्ये ७५ ओटा १०० किलोवाट क्षमतासम्मका कार, जीप तथा भ्यान रहेको छ । यी सवारीको मूल्य १६ करोड ५९ लाख १९ हजार रहेको छ । यसै अवधिमा चीनबाट ४ थान १०० देखि २०० किलोवाट क्षमतासम्मको कार, जीप तथा भ्यान रहेको छ जसको मूल्य १ करोड ७१ लाख ६२ हजार रहेको पाइएको छ ।

यसैगरी भारतबाट आयात भएका ५ सय २ विद्युतीय सवारी साधनमध्ये सबै १०० किलोवाट क्षमतासम्मका कार, जीप र भ्यान रहेका छन् । तिनीहरुको समग्र मूल्य १ अर्ब ३३ करोड ९६ लाख ११ हजार रहेको छ ।

दक्षिण कोरियाबाट आयात भएका १२० सवारीमध्ये ४० करोड ७७ लाख ३४ हजार बराबरको १०९ थान १०० किलोवाट क्षमतासम्मका कार, जीप तथा भ्यान रहेका छन् । बाँकी ११ ओटा भने १०० देखि २०० किलो क्षमताका कार, जीप तथा भ‍्यान रहेका तथ्याङ्कमा उल्ले‍ख छ । तिनीहरुको मूल्य ५ करोड १८ लाख ६२ हजार परेको छ ।

अमेरिकाबाट १०० देखि २०० किलोवाट क्षमताका २ थान तथा २०० देखि ३०० किलोवाट क्षमताका २ थान गरी जम्मा ४ थान विद्युतीय सवारी आएको छ । यसमध्ये १०० देखि २०० किलोवाट क्षमताका गाडीको ९५ लाख ९६ हजार तथा २०० देखि ३०० किलोवाट क्षमताका गाडीको मूल्य १ करोड ३१ लाख ८२ हजार रुपैयाँ रहेको छ ।