
काठमाडौं, १४ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत आन्तरिक रुपमै खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । यसबाहेक आन्तरिक खपत गरी बढी भएको विद्युत भारत र बङ्गलादेश निर्यातका लागि समेत पूर्वाधार विस्तारमा प्राधिकरण जुटेको हो ।
विद्युत् खपत वृद्धिको सम्भावना रहेका प्रदेश नं १ अन्तर्गतका सुनसरी, मोरङ र झापा जिल्लालाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउने तयारी सुरु गरेको छ । साथै, भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण लाइन पूर्वाधारको निर्माण गरिने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले मुलुकमा उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउन अल्पकालीन र दीर्घकालीन योजनासहित प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण तथा पूर्वाधार बिस्तारलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । सञ्चालनमा रहेका पूर्वाधारको स्तरोन्नति गर्ने प्राधिकरणको कार्यक्रम छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार विद्युत् खपत बढाउन तथा निर्यातका लागि सुनसरी, मोरङ र झापामा आवश्यक पर्ने पूर्वाधारका विषयमा स्थलगत अवलोकन भ्रमण गरी जानकारी लिएको प्राधिकरणले जनाएको छ ।

टोलीले भारतको पश्चिम बङ्गाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणको सम्भावना, बङ्गलादेशतर्फ विद्युत् निर्यातका सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको छ ।
टोलीले सुनसरी, मोरङ र झापामा निर्माणाधीन र हाल सञ्चालनमा रहेका विद्युत् प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचनाका विषयमा पनि स्थलगत अध्ययन गरी जानकारी लिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार विस्तार गर्न लागिएको बताए ।
‘दीर्घकालीन रुपमा भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलिगुढी, पूर्णिया र किसनगञ्ज विन्दु नजिकपर्ने देखिएको छ, त्यसैले ४ सय केभीको इनरुवा सवस्टेसनबाट हुलाकी राजमार्गको आसपास हुँदै सोही क्षमताको प्रसारण लाइन निर्माण गरी झापाको अनारमनी क्षेत्रमा सबस्टेसन बनाएर प्रसारण सञ्जाल बिस्तार गर्नुपर्ने देखिएको छु’, कार्यकारी निर्देशक घिसिङले भने ।
घिसिङले उक्त लाइन अत्यावश्यक भएको र यसबाट उक्त क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र विश्वसनीय भई खपत बढ्ने र भारत र बङ्गलादेशमा विद्युत् निर्यातका लागि थप प्रसारण सञ्जाल तयार हुने पनि बताए । घिसिङ नेतृत्वको टोलीले पावर ग्रीड भारतको पश्चिम बङ्गलाको सिलिगुढीस्थित ४००/२२० केभी विनागुढी सबस्टेसनको भ्रमण गरी विद्युत् आयात निर्यातको जानकारी लिएको थियो । सबस्टेसनमा भुटानको ताला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् जोडिएको छ ।

प्राधिकरणको खपत बढाउने अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता बिस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिटो सम्पन्न गर्ने छ ।
दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्नसक्ने सम्भावित ठाउँको पहिचान गर्ने र आन्तरिक रुपमा खपत गरी बढी भएको विद्युत् निर्यातका लागि ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण गरिने छ ।
प्राधिकरणको उच्चस्तरीय टोलीले झापाको ग्वालडुब्बा, मोरङको केरौन, सुनसरीको इनरुवा तथा कुशहामा निर्माणाधीन सवस्टेसनको निर्माण प्रगतिका विषयमा आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेको थियो । टोलीले सवस्टेसन भरपर्दो र विश्वसनीय विद्युत् आपूर्तिका लागि महत्वपूर्ण भएकोले जतिसक्दो छिट्टो सम्पन्न गर्न आग्रह गरेको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




