माछापुच्छ्रेको केन्द्र जोड्ने सडक अलपत्र

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



कास्की, १५ कात्तिक । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने गरी निर्माणाधीन सडकमा लामो समयदेखि काम ठप्प छ । गण्डकी प्रदेश सरकारको प्रदेश राजधानीदेखि स्थानीय पालिकाको केन्द्र जोड्ने पक्की कालोपत्र सडक निर्माण योजनाअन्तर्गतको सो सडकमा चार वर्षअघि काम सुरु भए पनि अहिले अलपत्र परेको हो ।

डेढ वर्षअघि नै सम्पन्न हुनुपर्ने सो सडकको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण ढिलाइ भएको स्थानीयको भनाइ छ । सडकको काम लामो समयदेखि रोकिएको छ । सडकको नाला निर्माण भएर ‘बेस बिछ्याए’को लामो समय भए पनि कालोपत्रको काम सुरु भएको छैन ।

निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । समयमै सडक निर्माण सम्पन्न नहुँदा हिउँदमा धुलो र बर्खायाममा हिलो सडकमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता स्थानीयवासीको छ । लाहाचोकका स्थानीयवासीले सोमबार गाउँपालिका जोड्ने सडकको काम तत्कालै सुरु गर्न मागसहित गाउँपालिकामा ज्ञापनपत्रसमेत बुझाए । उनीहरूले ५ दिनभित्रमा काम सुरु नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने बताएका छन् ।

स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ती गर्दा जनताले दुःख पाएको बताए । उनका अनुसार अहिले सो सडकको सबै काम ठप्प छ । ‘हामीले सडक छिटो सम्पन्न गर्न पटक–पटक आवाज उठाएका छौँ, तर सुनुवाइ भएको छैन’, अधिकारीले भने, ‘गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखि अलपत्र पर्दा दुःख पाएका छौँ । गाउँपालिका र प्रदेश सरकारले दबाब दिनु पर्दछ भनेर पहिलो चरणमा गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हौँ ।’

गण्डकी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालय कास्कीबाट १० करोड लगानीमा माछापुच्छ्रेको प्रवेशद्धार मर्दीपुलबाट भिरकटेरा, बानेटाकुर हुँदै गाउँपालिकासम्मको ५ किमी कालोपत्र सडक निर्माणका लागि हिमदुङ थोकर जिएसआर जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सो सडकमा लामो समयदेखि काम रोकिएकाले तत्कालै सुरु गर्न निर्माण कम्पनी तथा प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाइन् । गाउँपालिका जोड्ने सडकभन्दा पछि ठेक्का लगाएर सुरु गरेका दुई पक्की सडक दुई वर्षअघि नै सम्पन्न हुँदासमेत मुख्य सडकको काम ढिलाइ भएको लाहाचोक भिरकटेराका दीपक अधिकारीले बताए ।

भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी हुँदै डाँडासम्म र भलाबोटबाट टुसेसम्म अर्को पक्की सडक कालोपत्र भइसक्दा गाउँपालिका प्रवेशको मुख्य सडक नै अलपत्र छ ।