सेगवेको प्रिमियम स्कुटर नेपालमा

-



     सफल आवाज    
     कार्तिक २५ गते २०७९ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । सेगवेको नयाँ इलेक्ट्रीक स्कुटर ‘ई ११० एल’ नेपाली बजारमा उपलब्ध भएको छ । आईहब प्रालिले सेगवेको यो नयाँ इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो । यो स्कुटर गत असोज ६ गतेदेखि भृकुटीमण्डपमा भएको ईभी एक्स्पो २०२२ मा कम्पनीले प्रदर्शनीमा राखेको थियो ।

हालै उपलब्ध ई ११० एल स्कुटरमा अधिकतम २.४ किलोवाट पावर प्रदान गर्ने मोटर जडान गरिएको छ । यसमा सेगवेले ७२ भोल्ट २४ एम्पीयर पावरको ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा ११० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीले दावी गरेको छ ।

कम्पनील नेपाली बजारमा यसअघि नै ई १०० र ई १२५ मोडलका स्कुटर बिक्री गर्दै आएको थियो । नयाँ स्कुटरको रुपमा ई ११० एल नेपाल ल्याएसँगै कम्पनीसँग अब तीन मोडलका स्कुटर उपलब्ध भएका छन् ।

यसमा २७ लिटर क्षमताको स्टोरेज बक्स दिइएको छ । यसका साथै सिट कुसन, यात्रुहरूका लागि लुकेको ब्याक रेस्ट, यूएसबी चार्जिङ पोट, साइड स्ट्याण्ड सेन्सर जस्ता फिचरले यसलाई अझ आकर्षक बनाएको छ । आईहब प्रालिले यो प्रिमियम स्कुटरको मूल्य ३ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।