
काठमाडौं, २७ कात्तिक । जम्बो मोटर्स प्रालिले ओपाई ब्राण्डको नयाँ इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीले सस्तो मूल्यमा आउने ओपाई वाईडब्लू-०३ मोडलको स्कुटर बिक्री सुरु गर्ने भएको हो ।
कम्पनीले ओपाई वाइडब्लू ०३ मोडलको मूल्य १ लाख ४९ हजार रुपैयाँ तोकेको छ । नेपालमा आएका सबैखाले इलेक्ट्रिक स्कुटरहरु महँगो मूल्यमा उपलब्ध भइरहँदा जम्बो मोटर्सको यो मोडल भने डेढ लाख रुपैयाँमा पाइने भएको छ ।
यो स्कुटरमा २ किलोवाट पिक पावरको मोटर दिइएको छ भने ६० भोल्ट २३ एम्पायरको ग्राफिनी ब्याट्री प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड क्षमता ५५ किलोमिटर प्रति घण्टाको रहेको कम्पनीको दावी छ । कम्पनीका अनुसार स्कुटरको ब्याट्रीमा एक वर्षको वारेन्टी उपलब्ध छ । यसका अन्य विशेषतामा की–लेस स्टार्ट, डिजिटल क्लस्टर, डिस्क ब्रेक, एलईडी लाइट आदि रहेका छन् ।
जम्बो मोटर्स प्रालिले लेभनिङ, ओपाइ, जम्बो इलेक्ट्रीक ब्राण्डका स्कुटर आयात गर्दै आएको छ । यसमध्ये यो स्कुटर ओपाइ ब्राण्डको सूचीमा नयाँ थपिएको हो ।